काठमाडौं, साउन १५ गते । नेपाल पत्रकार महासंघले सुनसरीसहित विभिन्न जिल्लामा भएका प्रदर्शन तथा झडपका क्रममा तीन जनाको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।
महासंघले जारी गरेको विज्ञप्तिमा ज्यान गुमाएका तीनै जनाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
महासंघले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुजातीय विविधताले सम्पन्न मुलुक भएकाले यही विविधताबीचको एकता, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान नेपाली समाजको मौलिक पहिचान र राष्ट्रिय शक्तिको आधार भएको उल्लेख गरेको छ। यस्तो सामाजिक संरचनालाई कमजोर बनाउने कुनै पनि गतिविधिले राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा लोकतान्त्रिक मूल्य–मान्यतामा प्रतिकूल असर पार्न सक्ने महासंघको भनाइ छ।
विज्ञप्तिमा पछिल्लो समय सुनसरीको देवानगञ्जबाट सुरु भएको घटनाक्रम तथा त्यसपछि विभिन्न स्थानमा विकसित घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संवेदनशील परिस्थितिमा नागरिकको जीवन, सम्पत्ति तथा मौलिक अधिकारको सुरक्षा सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको उल्लेख गरिएको छ।
महासंघले सबै राजनीतिक दल, धार्मिक समुदाय, नागरिक समाज, सञ्चारमाध्यम तथा आमनागरिकलाई उच्च जिम्मेवारी र संयमता प्रदर्शन गर्न आग्रह गर्दै अफवाह, घृणा, हिंसा तथा सामाजिक सञ्जालमार्फत फैलाइने भ्रामक र अपुष्ट सामग्रीको प्रसारबाट टाढा रहन अपिल गरेको छ। कुनै पनि विवाद वा असहमतिको समाधान संविधान, कानुनी प्रक्रिया, संवाद र लोकतान्त्रिक विधिबाट मात्र सम्भव हुने विश्वास पनि महासंघले व्यक्त गरेको छ।
महासंघले यस परिस्थितिमा सञ्चारमाध्यम र पत्रकारको भूमिका अझ जिम्मेवार बन्नुपर्ने उल्लेख गर्दै सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषणमार्फत सामाजिक सद्भाव र नागरिक विश्वास अभिवृद्धि गर्न सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको जनाएको छ। पत्रकार तथा सञ्चारमाध्यमलाई पत्रकारिताको आचारसंहिता र व्यावसायिक मर्यादा पूर्ण रूपमा पालना गर्दै जिम्मेवारी निर्वाह गर्न पनि महासंघले आग्रह गरेको छ।
त्यसैगरी, समाचार सङ्कलन, सम्पादन तथा सम्प्रेषणमा संलग्न पत्रकारहरूले कुनै पनि प्रकारको त्रास, अवरोध वा हस्तक्षेपबिना स्वतन्त्र रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि प्रकारको अंकुश नलगाउन नेपाल सरकार र सम्बन्धित पक्षसँग महासंघले जोडदार आग्रह गरेको छ।
महासंघले नेपाल सरकारसँग घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न, पीडित परिवारलाई उचित राहत, क्षतिपूर्ति र न्याय उपलब्ध गराउन तथा नागरिकको जीवन, सम्पत्ति र संवैधानिक अधिकारको प्रभावकारी सुरक्षा सुनिश्चित गर्न माग गरेको छ।
साथै, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सामुदायिक विश्वासलाई सुदृढ बनाउन आवश्यक संवाद, समन्वय तथा विश्वास निर्माणका प्रयास तत्काल प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित सबै पक्षलाई महासंघले आह्वान गरेको छ। संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्थापनका क्रममा मानवअधिकारको सम्मान, कानुनी शासनको पालना तथा न्यूनतम बल प्रयोगको सिद्धान्त अवलम्बन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै महासंघले अन्त्यमा सबै पक्षलाई संयमता, सहिष्णुता, आपसी सम्मान र जिम्मेवारीका साथ राष्ट्रिय एकता तथा दिगो शान्तिको पक्षमा योगदान पुर्याउन आग्रह गरेको छ।














