मनहरी गाउँपालिका,बैशाख १८ गते । मनहरी गाउँपालिकाले लैङ्गिक तथा यौनिक अल्पसंख्यक (LGBTIQ+) समुदायलाई लक्षित गर्दै विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाको १७औँ गाउँसभाबाट स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत उक्त समुदायका व्यक्तिहरूका लागि विनियोजित बजेट मार्फत कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
गाउँपालिकाले सूचना जारी गर्दै आफ्नो क्षेत्रभित्र स्थायी बसोबास गर्ने लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ। सूचना प्रकाशन भएको मितिले सात दिनभित्र सम्बन्धित व्यक्तिहरूले आफ्नो विवरण दर्ता गराउनुपर्ने उल्लेख गरिएको छ।
विवरण दर्ताका लागि मनहरी गाउँपालिकाको सामाजिक विकास शाखामा प्रत्यक्ष सम्पर्क गर्न सकिनेछ। साथै, यस क्षेत्रमा काम गर्दै आएको संस्था ‘फ्रेन्डस् हेटौडा, मकवानपुर’ (हेटौडा–४) मार्फत पनि सम्पर्क गरी नाम दर्ता गराउन सकिने व्यवस्था गरिएको छ। सो संस्थाको सम्पर्क नम्बर ९८४५२४३५७२ रहेको छ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईका अनुसार कार्यक्रमले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको सशक्तीकरण, समावेशी विकास तथा सामाजिक पहुँच अभिवृद्धिमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।















