हेटौंडा,बैशाख २० गते । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले हेटौंडा बजार फराकिलो बनाउने कार्यमा आवश्यक पूर्वतयारी नगरी अघि बढाइएको भन्दै असन्तुष्टि जनाएका छन्।
सिग्देलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै विकास कार्य निकाससहित हुनुपर्नेमा जोड दिएका छन्। उनले लेखेका छन्, “विकास निकाससहित हुनुपर्छ, नत्र हेटौंडा बजार भत्काएर छाडेको जस्तै हुन्छ।”
उनका अनुसार हेटौंडा बजार फराकिलो बनाउने कार्य आवश्यक र सबैको सहमतिको विषय भए पनि पर्याप्त योजना र व्यवस्थापनबिना संरचना भत्काउँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ। विशेषगरी सडक विस्तारपछि यातायात व्यवस्थापन, ढल निकास, पार्किङ तथा व्यापार सञ्चालनमा देखिएको अव्यवस्था समाधान हुन नसकेको उनले उल्लेख गरेका छन्।
सिग्देलले सम्बन्धित निकायलाई पूर्वतयारी, समन्वय र दीर्घकालीन सोचका साथ विकासका काम अघि बढाउन आग्रह गरेका छन्। उनले बजार व्यवस्थापनमा देखिएको समस्या तत्काल समाधान गर्न स्थानीय सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएका छन्।
स्थानीय व्यवसायी र सर्वसाधारणले पनि सडक विस्तारपछि सहज आवतजावत र व्यवस्थित बजारको अपेक्षा राखेका भए पनि हालको अवस्थाले समस्या थपिएको गुनासो गर्दै आएका छन्।














