काठमाडौं,बैशाख २० गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका जेनजी आन्दोलनका अग्रणी नेता रवि किरण हमालले आज आयोजित पत्रकार सम्मेलन मार्फत नयाँ स्वतन्त्र, मूल्य–आधारित र मुद्दाकेन्द्रित राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेका छन्। “पुरानो व्यवस्थाको अन्त्य, नयाँ राजनीतिक संस्कृति निर्माणको सुरुवात” भन्ने नारासहित भएको कार्यक्रमले नेपाली राजनीतिमा नयाँ पुस्ताको सक्रिय प्रवेशको संकेत दिएको छ।
सम्मेलनमा उनले परम्परागत राजनीतिक संरचनालाई सामन्ती, सौदाबाजीमा आधारित र सत्ताकेन्द्रित रहेको आरोप लगाएका छन्। दक्षिणपन्थी शक्तिहरूले राष्ट्रवाद र सांस्कृतिक पहिचानको नारा लगाए पनि व्यवहारमा पुरानै ढर्रा कायम राखेको टिप्पणी गरेका छन्। “जेनजी अब पुराना ढाँचामा सीमित भएर राजनीति गर्दैन,” उनले भनेका छन्।
“जेनजी आन्दोलन सकिएको होइन, चेतनाको क्रान्ति जारी छ,” भन्दै उनले आन्दोलन सडकमा मात्र नभई विचारमा हुने बताएका छन्। २००७, २०४६ र २०६२/६३ का परिवर्तनहरू पहिले चेतनास्तरमा भएको उल्लेख गर्दै अहिलेको पुस्ता “fearless generation” भएको बताएका छन्। अबको यात्रा ‘protest politics’ बाट ‘governance र institution-building’ तर्फ केन्द्रित हुने बताएका छन्।
भदौ २३ र २४ गतेका घटनालाई लोकतान्त्रिक इतिहासको “कालो अध्याय” भन्दै उनले राष्ट्रिय मानव अधिकार आयोग ले तयार पारेको प्रतिवेदन अझै सार्वजनिक नगरेकोप्रति प्रश्न उठाएका छन्। उक्त प्रतिवेदन रोकिनुको कारण दुवै पक्षका नाम समेटिएको हुन सक्ने आशंका व्यक्त गर्दै दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने बताएका छन्।
सीमासम्बन्धी विषयमा सरकार मौन रहेको आरोप लगाउँदै उनले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा भइरहेको गतिविधिप्रति तत्काल कूटनीतिक पहल गर्न माग गरेका छन्। साथै संसदमा आपतकालीन बहस र नेपाललाई ‘Zone of Peace’ घोषणा गर्नुपर्ने बताएका छन्।
आर्थिक पक्षमा उनले महँगी, कालोबजारी, crony capitalism र बेरोजगारीलाई संरचनागत समस्या भन्दै समाधानका लागि ठोस नीति आवश्यक रहेको बताएका छन्। पेट्रोलियममा लागेका कर घटाएर तत्काल राहत दिन सकिने भए पनि सरकारमा इच्छाशक्ति अभाव रहेको आरोप लगाएका छन्।
यस क्रममा बालेन शाह लाई लक्षित गर्दै उनले लोकप्रियतावादी राजनीतिप्रति सचेत रहन आग्रह गरेका छन्। “लोकप्रियता र सत्य एउटै हुँदैन,” भन्दै विगतबाट पाठ सिक्नुपर्ने बताएका छन्।
अन्त्यमा, हमालले आफूहरू अराजकताको पक्षमा नभई व्यवस्थित परिवर्तनका पक्षमा रहेको बताएका छन्। जवाफदेहिता, वैचारिक स्पष्टता, राष्ट्रिय हित र पुस्तागत न्यायलाई केन्द्रमा राखेर अघि बढ्ने बताउँदै देश–विदेशमा रहेका नेपालीलाई साथ दिन अपिल गरेका छन्।














