थाहा नगरपालिका,जेठ २ गते । नेपाल कृषिप्रधान देशका रूपमा परिचित भए पनि कृषकहरूले उत्पादन गरेको कृषिजन्य सामग्रीको उचित मूल्य पाउन नसकेको गुनासो वर्षौंदेखि दोहोरिँदै आएको छ। कृषिमा आफ्नो श्रम, समय र पसिना बगाएका किसानहरू राज्यबाट अपेक्षित संरक्षण र बजार व्यवस्थापन नपाउँदा मारमा परिरहेका छन्।
यही समस्या अहिले मकवानपुर जिल्लाको थाहा नगरपालिकामा पनि देखिएको छ। थाहा नगरपालिका अन्तर्गतका दामन, पालुङ, बज्रबाराही र चित्लाङ क्षेत्रका अधिकांश किसानहरूले उत्पादन गरेको आलुले उचित बजार मूल्य नपाउँदा किसानहरू निराश बनेका छन्।
स्थानीय किसानहरूका अनुसार यस वर्ष उत्पादन भएको आलुको मूल्य अत्यन्तै न्यून रहेको छ। व्यापारीहरू खेतमै पुगेर सेतो आलु प्रतिकेजी १० रुपैयाँ र रातो आलु प्रतिकेजी १२ रुपैयाँको दरले खरिद गरिरहेका छन्। किसानहरूले लगानी गरेको लागतसमेत नउठ्ने गरी मूल्य निर्धारण भएपछि उनीहरू आर्थिक रूपमा थप समस्यामा परेका छन्।
किसानहरू भन्छन्, “हामीले मल, बीउ, औषधि, मजदुरी र ढुवानीमा ठूलो रकम खर्च गरेका छौं। तर अहिले बजारमा आलुको मूल्य यति कम छ कि लगानीसमेत उठाउन मुस्किल परेको छ।”
उत्पादित आलु लामो समयसम्म भण्डारण गर्न आवश्यक सुविधा अभाव हुँदा किसानहरू बाध्य भएर कम मूल्यमा नै व्यापारीलाई आलु बेच्न बाध्य भएका छन्। यदि समयमै बिक्री नगरे आलु कुहिने र खेर जाने डरले किसानहरूले व्यापारीले तोकेको मूल्य स्वीकार गर्नुपरेको उनीहरूको भनाइ छ।
स्थानीय कृषकहरूले राज्यले कृषि उत्पादनको उचित मूल्य निर्धारण, भण्डारणको व्यवस्था तथा बजार व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्नुपर्ने माग गरेका छन्। उनीहरू भन्छन्, “हामीले उत्पादन गरेको कृषि सामग्रीको सही मूल्य कहिले पाउने हो ?”
कृषकहरूको यस्तो पीडाले नेपालमा कृषि क्षेत्रको दीर्घकालीन समस्या फेरि उजागर भएको छ। किसानको उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सम्बन्धित निकायले समयमै ध्यान नदिए कृषिप्रति किसानहरूको आकर्षण घट्दै जाने चिन्ता स्थानीयवासीले व्यक्त गरेका छन्।














