हेटौडा,जेठ ३ गते । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य नवीन सिग्देलले वडा क्षेत्रमा देखिएका डुबान तथा पानी जम्ने समस्यालाई क्रमशः समाधान गर्दै लगिएको बताएका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै सिग्देलले आफूहरू स्थानीय नेतृत्वमा आउनुअघि नै धेरै स्थानमा पानी जम्ने, सडक डुबान हुने तथा खोलाजस्तो अवस्था रहेको उल्लेख गरेका छन्।
उनले गर्दोही क्षेत्रको सडक पहिले खोलो र पोखरीजस्तै रहेको, गिरीटोल डुबानको समस्यामा परेको तथा ब्रम्हदिक अगाडि, दाजुभाइ अगाडि र पारिजातपथ क्षेत्रमा समेत वर्षायाममा पानी बग्ने समस्या रहेको स्मरण गराउँदै अहिले तीमध्ये धेरै समस्या समाधान गरिएको दाबी गरेका छन्।
सिग्देलले विकास र परिवर्तन हेर्न चाहनेहरूलाई सम्बन्धित क्षेत्रमा प्रत्यक्ष पुग्न आग्रह गर्दै सामाजिक सञ्जालमा व्यंग्य गर्नुभन्दा वास्तविक अवस्था अवलोकन गर्न सुझाव दिएका छन्।
हाल पनि गरूढपथ भित्री सडक, हेटौंडा क्याम्पस जाने सडक तथा भैरवरोड क्षेत्रमा पानी जम्ने समस्या रहेको स्वीकार गर्दै उनले वडा कार्यालय समाधानका लागि निरन्तर काम गरिरहेको बताएका छन्।
“हामी समाधानमा लागिरहेका छौं, समाधान गर्छौं,” भन्दै उनले आलोचना गर्ने उद्देश्यले भिडियो बनाएर सामाजिक सञ्जालमा भाइरल हुन खोज्नेहरूलाई व्यंग्यात्मक शैलीमा टिप्पणीसमेत गरेका छन्।














