चितवन,जेठ २२ गते। बागमती प्रदेश सरकार अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायात क्षेत्रमा दीर्घकालीन, अनुशासित, जिम्मेवार र दुर्घटनारहित सेवा प्रदान गर्दै आएका उत्कृष्ट चालक तथा सहचालकलाई सम्मान गरेको छ।
शुक्रबार चितवनको भरतपुर महानगरपालिका–१ स्थित चितवन उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा बागमती प्रदेशका विभिन्न जिल्लाका १६ जना चालक र १६ जना सहचालक गरी ३२ जनालाई नगद पुरस्कार, मेडल तथा प्रमाणपत्रसहित सम्मान गरिएको हो।
पुरानो नारायणी यातायात व्यवसायी संघ मकवानपुरको समन्वयमा आयोजित कार्यक्रममा उत्कृष्ट चालकलाई जनही २० हजार रुपैयाँ तथा सहचालकलाई जनही १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। सम्मानित हुनेमध्ये सबैभन्दा धेरै मकवानपुर जिल्लाका चालक तथा सहचालक रहेका छन्।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यता तथा मन्त्रालयकी महाशाखा प्रमुख सुनिता गजुरेलको सभाध्यक्षता रहेको थियो। हेटौँडा–काठमाडौं, हेटौँडा–सिन्धुली, हेटौँडा–बागमती लगायतका विभिन्न सार्वजनिक यातायात सेवामा कार्यरत चालक तथा सहचालकहरूको कार्यसम्पादन, अनुशासन, सेवाको अवधि र दुर्घटनारहित सेवाजस्ता आधारमा मूल्याङ्कन गरी सम्मान गरिएको जनाइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले यातायात क्षेत्रलाई विकृति र विसंगतिबाट मुक्त बनाउन चालक तथा सहचालकहरूको भूमिका महत्वपूर्ण रहेको बताए। उनले सार्वजनिक यातायात सेवाको गुणस्तर अभिवृद्धि तथा क्षेत्रको शुद्धीकरणका लागि सबै सरोकारवाला एकजुट हुनुपर्नेमा जोड दिए।
त्यसैगरी महाशाखा प्रमुख गजुरेलले सेवाकालभर दुर्घटनारहित तथा अनुशासित रूपमा जिम्मेवारी निर्वाह गरेका चालक तथा सहचालकलाई सम्मान गरिएको जानकारी दिइन्। श्रमको सम्मान र सार्वजनिक यातायात सेवाको गुणस्तर वृद्धि गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो।
गत वर्षको तुलनामा यस वर्ष महिला सहभागिता कम देखिएको भन्दै उनले आगामी दिनमा महिला चालक तथा सहचालकको सहभागिता बढाउन विशेष पहल आवश्यक रहेको बताइन्।
कार्यक्रममा नारायणी यातायात व्यवसायी संघ मकवानपुरका अध्यक्ष हिरालाल श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेल तथा यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।














