हेटौंडा,असार २ गते। नेपाल पत्रकार महासंघ जिल्ला समिति मकवानपुरले फिचर लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ। हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको प्रतियोगितामा मकवानपुरका क्रियाशील सञ्चारकर्मीहरूलाई सहभागी हुन आह्वान गरिएको छ।
महासंघले जारी गरेको सूचनाअनुसार प्रतियोगितामा सहभागी हुने फिचर समाचार हेटौंडा उपमहानगरपालिकाले विभिन्न क्षेत्रमा गरेको विकास, योजना तथा जनसरोकारका विषयसँग सम्बन्धित हुनुपर्नेछ। फिचर समाचार ८०० देखि १२०० शब्दसम्मको हुनुपर्ने जनाइएको छ।
प्रतियोगितामा सहभागी हुने सामग्री वास्तविक तथ्य–तथ्याङ्कमा आधारित हुनुपर्ने तथा जनप्रतिनिधि, कर्मचारी वा सम्बन्धित व्यक्तिहरूको भनाइ तथा प्रतिक्रिया समेटिएको हुनुपर्ने महासंघले जनाएको छ। साथै फिचर समाचार मौलिक, सिर्जनात्मक तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग नगरी तयार गरिएको हुनुपर्ने उल्लेख गरिएको छ।
प्रतियोगिताका लागि समाचारसँग सम्बन्धित कम्तीमा दुईवटा तस्बिर तथा बढीमा दुई मिनेटसम्मको भिडियो क्लिप समेत समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
इच्छुक सञ्चारकर्मीहरूले आफ्नो सामग्री २०८३ असार १० गते अपरान्ह ५ बजेसम्म नेपाल पत्रकार महासंघ मकवानपुरको इमेल ठेगाना makwanpurfng@gmail.com मा पठाइसक्नुपर्नेछ। निर्धारित समयपछि प्राप्त सामग्री प्रतियोगितामा समावेश नगरिने महासंघले स्पष्ट पारेको छ।
प्रतियोगितामा उत्कृष्ट ठहरिएको फिचर समाचारलाई नगद ४५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। साथै उत्कृष्ट १० जना सहभागीलाई जनही १० हजार रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने जानकारी दिइएको छ।
महासंघले हालको कार्यसमितिमा रहेका पदाधिकारी तथा सदस्यबाहेकका पत्रकार तथा सञ्चारकर्मीले मात्र प्रतियोगितामा भाग लिन पाउने जनाएको छ। प्रतियोगिताले स्थानीय विकास र पत्रकारिताको गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ।















