हेटौंडा–१८ मा निःशुल्क वृहत् स्वास्थ्य शिविर सम्पन्न, ४३८ जना लाभान्वित

हेटौडा, असार १३ गते । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको २६औँ स्थापना दिवसको अवसरमा आयोजित निःशुल्क वृहत् स्वास्थ्य शिविर हेटौंडा–१८ स्थित ज्योति माध्यमिक विद्यालय, हर्नामाडीमा सम्पन्न भएको छ।

टोल विकास संस्था नगर समन्वय समितिको आयोजना, हेटौंडा उपमहानगरपालिका वडा नं. १८ को सहयोग, सामुदायिक प्रहरी सेवा केन्द्रको सहआयोजना, मकवानपुर सहकारी अस्पतालको प्राविधिक सहयोग तथा टोल विकास संस्था वडा समन्वय समिति वडा नं. १८ को व्यवस्थापनमा सम्पन्न शिविरबाट ४३८ जना सेवाग्राही प्रत्यक्ष रूपमा लाभान्वित भएका थिए।

कार्यक्रम टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता तथा वडा नं. १८ का वडा अध्यक्ष अनिल बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा मकवानपुर सहकारी अस्पतालका अध्यक्ष नरोत्तम दाहाल, वडा सदस्य योगराज खतिवडा, अस्पतालका व्यवस्थापक अर्जुन भट्टराई, ज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेल, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष देवकुमार श्रेष्ठ, पूर्व अध्यक्ष शालिग्राम पौडेल, टोल विकास संस्था वडा समन्वय समिति वडा नं. १८ का अध्यक्ष विमला बिसंखे, सल्लाहकार सीता विष्ट लगायत विभिन्न सामाजिक तथा सामुदायिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

शिविरमा वरिष्ठ मुटु तथा नसा रोग विशेषज्ञ डा. सुन्दरकुमार श्रेष्ठ, वरिष्ठ मुटु रोग विशेषज्ञ डा. मनोज श्रेष्ठ, युरो सर्जन डा. मोहम्मद कौसर, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. पारसराज अमात्य, जनरल फिजिसियन डा. विजय साह कानु, सर्जन विशेषज्ञ डा. रामविद्या चौधरी, जनरल फिजिसियन डा. उदित आचार्य तथा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रूकैया प्रविणलगायतका विशेषज्ञ चिकित्सकहरूले सेवा दिएका थिए। शिविरमा स्वास्थ्य परीक्षण, विशेषज्ञ परामर्श, ईसीजी सेवा, प्रयोगशाला परीक्षण तथा निःशुल्क औषधि वितरणलगायतका सेवा उपलब्ध गराइएको थियो।

कार्यक्रममा वडा अध्यक्ष अनिल बानियाँले यस्ता स्वास्थ्य केन्द्रित कार्यक्रमहरूले समुदायमा स्वास्थ्य चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। उनले नागरिकको घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने कार्य प्रशंसनीय रहेको भन्दै टोल विकास संस्थाले सामाजिक विकास, सरसफाइ, वातावरण संरक्षण तथा जनचेतनामूलक अभियानमार्फत सकारात्मक परिवर्तन ल्याइरहेको बताए।

त्यसैगरी कार्यक्रमका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले स्वास्थ्य नै जीवनको सबैभन्दा ठूलो सम्पत्ति भएकाले प्रत्येक नागरिक स्वास्थ्यप्रति सचेत र जिम्मेवार हुनुपर्ने बताए। उनले शिविरलाई सफल बनाउन योगदान पुर्‍याउने चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक, सहयोगी संस्था, जनप्रतिनिधि तथा स्थानीयवासीप्रति धन्यवाद व्यक्त गरे।

अध्यक्ष अधिकारीले टोल विकास संस्थाले स्वास्थ्य, सरसफाइ, वातावरण संरक्षण, हरियाली प्रवर्द्धन, प्लास्टिक न्यूनीकरण तथा सामाजिक सचेतनामूलक अभियानहरू निरन्तर सञ्चालन गर्दै आएको उल्लेख गरे। उनले आगामी दिनहरूमा पनि समुदायको आवश्यकताअनुसार यस्ता जनहितकारी कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए।

समुदायस्तरमै स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, समयमै रोगको पहिचान तथा उपचारमा सहयोग पुर्‍याउने र नागरिकमा स्वास्थ्यप्रति जागरण अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त शिविर प्रभावकारी र उपलब्धिमूलक भएको आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.