हेटौडा, अशोज ५ गते । हेटौडा अस्पताललाई पारदर्शी, उत्तरदायी र जनमैत्री बनाउनुपर्ने मागसहित विभिन्न सामाजिक संघ–संस्थाले आइतबार अस्पताल प्रशासनलाई संयुक्त ध्यानाकर्षण पत्र बुझाएका छन्।


६० वर्ष पुरानो इतिहास बोकेको हेटौडा अस्पताल मकवानपुरका गरीब तथा विपन्न नागरिकको भरपर्दो स्वास्थ्य सेवा केन्द्रका रूपमा रहेको भन्दै ध्यानाकर्षण पत्रमा हालको अवस्था सुधार्न सात बुँदे माग राखिएको छ।
ध्यानाकर्षण पत्रमा अस्पतालभित्र देखिएका एकाधिकार, सेवामा हुने ढिलासुस्ती, उपचार प्रक्रियामा पारदर्शिताको कमी, औषधि तथा उपकरण खरिदमा मेडिकल माफियाको प्रभाव, अस्पतालको खाता सञ्चालनमा एकलौटीपन लगायतका समस्या तत्काल समाधान गर्न आग्रह गरिएको छ।
सात बुँदे मागमा अस्पतालका पदाधिकारीले बोलिचाली र व्यवहारमै सुधार गर्नुपर्ने, औषधि तथा उपकरण खरिद प्रतिस्पर्धामार्फत पारदर्शी ढंगले गर्नुपर्ने, बिरामीलाई सस्तोमा उपलब्ध गरिनुपर्ने सामान निजी ढंगले महँगोमा बिक्री गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने, अस्पतालको खाता संयुक्त रुपमा सञ्चालन गरी प्रत्येक महिना खर्च सार्वजनिक गर्नुपर्ने लगायतका विषय समावेश छन्।
त्यसैगरी, अस्पताललाई निजी संस्था सरह सञ्चालन गरी भत्ता, कमिसन र निजी क्लिनिकमा जाने प्रवृत्ति रोक्नुपर्ने, अस्पताल सञ्चालन समितिमा सचेत नागरिकको सहभागिता बढाउनुपर्ने र अस्पतालको जग्गा–जमिनको संरक्षणमा तत्काल कदम चाल्नुपर्ने मागसमेत उठाइएको छ।
संयुक्त ध्यानाकर्षण पत्र हेटौडा अस्पताल बचाउ तथा सुधार समिति, सेवा सहयोग र आवाजमा हामी, राष्ट्रिय जनसरोकार मञ्च नेपाल, राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र लगायतका संस्थाले बुझाएका हुन्।
संयुक्त ध्यानाकर्षण पत्र बुझाउने क्रममा अभियानकर्मीहरूले “हामी कसैको विरोधमा होइनौं, तर हेटौडा अस्पतालको अस्तित्व जोगाएर गरिब जनतालाई सहज र सस्तो स्वास्थ्य सेवा सुनिश्चित गर्न अभियान चलाएका हौं” भन्ने धारणा व्यक्त गरेका छन्।


























