काठमाडौं, अशोज २९ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री वैज्ञानिक डा. महावीर पुनले शिक्षा क्षेत्रमा देखिएका दीर्घकालीन समस्या समाधान र सुधारका लागि ठोस कदमहरू चाल्न थालेका छन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत मन्त्रालयले पछिल्ला दिनमा अघि सारेका केही महत्त्वपूर्ण कार्य र छलफलहरूको विवरण सार्वजनिक गरेका छन्।
मन्त्री पुनका अनुसार, सन् २०६९ देखि सम्बन्धनका लागि निवेदन दिएका तर हालसम्म सम्बन्धन नपाएका सिटिभिटिइ (CTEVT) अन्तर्गतका शैक्षिक संस्थाहरूको छानबिन गर्न कार्यदल गठन गरिएको छ। उक्त कार्यदलले मङ्सिर महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।
त्यस्तै, नेपाल खुला विश्वविद्यालयका १० जना र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका ७ जना सिनेटरहरूको रिक्त पदमा कुनै पनि राजनीतिक दबाब बिना निष्पक्ष रूपमा नियुक्ति गरिएको मन्त्री पुनले जानकारी दिएका छन्। उनका अनुसार, यी विश्वविद्यालयहरूमा सिनेटर नहुँदा रोकिएका कामहरू अब अघि बढ्न थालेका छन्।
उनले विज्ञान तथा प्रविधि मन्त्रालयलाई शिक्षा मन्त्रालयबाट अलग गरी स्वतन्त्र मन्त्रालयको रूपमा गठन गर्ने सम्भावनाबारे पनि छलफल सुरु गरिएको उल्लेख गरेका छन्। नयाँ मन्त्रालयमार्फत विज्ञान, नवप्रवर्तन, सूचना प्रविधि, जल तथा मौसम विज्ञान तथा सम्बन्धित क्षेत्रका कार्यहरू एकीकृत रूपमा अघि बढाउन सकिने उनको भनाइ छ।
यसबाहेक, विगतका सरकारहरूमा राजनीतिक भागबन्डाका कारण रिक्त रहँदै आएका विश्वविद्यालयका पदाधिकारीहरूलाई निष्पक्ष र योग्य व्यक्तिको आधारमा नियुक्त गर्ने कार्य अगाडि बढाइएको मन्त्री पुनले स्पष्ट पारेका छन्। “यसमा कुनै भनसुन चल्ने छैन,” मन्त्री पुनको भनाइ उद्धृत गर्दै उनले शैक्षिक प्रणालीमा पारदर्शिता र दक्षता ल्याउने प्रतिबद्धता जनाएका छन्।














