बारा, मंसिर ३ गते । बारा जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय, बाराले कर्फ्यु आदेश जारी गरेको छ। सिमरा विमानस्थल आसपास जेन–जेड युवाहरूको प्रदर्शन र राजनीतिक दल–आबद्ध समूहहरूबीच तनाव बढेपछि सरकारी तथा निजी सम्पत्तिमा क्षति हुन नदिन र स्थिति थप जटिल नबढोस् भन्ने उद्देश्यले आज मिति २०८२ साल मंसिर ३ गतेदेखि दिउँसो १२:३० बजेदेखि बेलुकी ८ बजेसम्म कर्फ्यु लागू गरिएको हो।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क) र ६(ख) अनुसार जारी कर्फ्यु आदेश बमोजिम जितपुर सिमरा उपमहानगरपालिकाका निम्न क्षेत्रहरूमा आवतजावत तथा कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा वा बैठक निषेध गरिएको छः
१) गण्डक नहरदेखि पत्लैया सडकखण्ड राजमार्गको दायाँ–बायाँ ५०० मिटर क्षेत्रभित्र
२) सिमरा विमानस्थल वरिपरि ५०० मिटर क्षेत्रमा
कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधन—एम्बुलेन्स, दमकल, सब–वाहन, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीका सवारी साधन, पर्यटक सवारी, मानव अधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारी साधनको सञ्चालन, साथै हवाई टिकटका आधारमा यात्रुहरूको आवागमन सुरक्षाकर्मीको सहजीकरणमा जारी रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
कर्फ्यु आदेश प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जारी गरेका हुन्।














