काठमाण्डौं, मंसिर ३ गते । नेपाल प्रिमियर लिग (Nepal Premier League) मा सहभागी खेलाडीलाई स्पोन्सर गर्ने बहाना बनाई आर्थिक प्रलोभनमा पारेर सट्टेबाजी (Betting)मा संलग्न गराउने प्रयास गर्ने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनीहरू विभिन्न क्लबका खेलाडीसँग सम्पर्क गर्दै “स्पोन्सर गर्छौँ” भनी आकर्षक आर्थिक प्रस्ताव राखेर खेलमा अनियमितता गराउने उद्देश्यले सट्टेबाजीमा सहभागी गराउने प्रयत्न गर्दै आएका थिए।
खेलकुद क्षेत्रलाई प्रभावित पार्ने उद्देश्यले गरिएको यस्तो आपराधिक क्रियाकलापबारे गोप्य सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। त्यसक्रममा संलग्न दुई जनालाई विशेष निगरानीपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
हाल पक्राउ परेकामाथि आवश्यक अनुसन्धान जारी रहेको र यस्ता गैरकानुनी क्रियाकलापमा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।
नेपाल प्रिमियर लिग जस्ता राष्ट्रिय खेलकुद प्रतियोगितामा सट्टेबाजीको अवैध प्रभाव बढ्दै गएको बेला प्रहरीले गरेको कारबाहीले खेलकुद क्षेत्र सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेलेको सरोकारवालाहरूको प्रतिक्रिया रहेको छ।














