सिमरा घटनाप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण, शान्ति–सुरक्षा कायम गर्न सबैलाई संयमता अपनाउन आग्रह

काठमाण्डौं, मंसिर ३ गते । नेपाल सरकार गृहमन्त्रालयले बारा जिल्लाको सिमरामा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। घटनापछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिँदै शान्ति–सुरक्षा कायम गर्न स्थानीय प्रशासनले आवश्यक कदम चालिरहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। मन्त्रालयका अनुसार स्थिति क्रमशः सामान्य हुँदै गएको छ।

विज्ञप्तिमा उल्लेख भएअनुसार वर्तमान सरकार तोकिएको मितिमै निर्वाचन सम्पन्न गराउँदै मुलुकमा शान्ति व्यवस्था र अमन–चयन कायम राख्न कटिबद्ध रहेको स्पष्ट गरिएको छ। यसका लागि सबै पक्षबीच आपसी संवाद, समन्वय र सहयोग अपरिहार्य रहेको मन्त्रालयको भनाइ छ।

यस्तै, कुनै पनि आयोजनाबद्ध कार्यक्रमहरू सञ्चालन गर्दा स्थानीय प्रशासनसँग समन्वय गरी शान्तिपूर्ण, मर्यादापूर्वक र सुव्यवस्थित ढंगले अघि बढाउन मन्त्रालयले आग्रह गरेको छ। शान्तिपूर्वक भेला हुने तथा अभिव्यक्ति राख्ने संवैधानिक हकको प्रयोग सबै पक्षले संयमता, समझदारी र संवादका माध्यमबाट गर्नुपर्ने जनाएको छ।

गृहमन्त्रालयले देशभर शान्ति–सुरक्षा कायम राख्न र निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबै सरोकारवाला पक्षहरूलाई गम्भीर र जिम्मेवार भएर आचरण गर्न हार्दिक अपिल गरेको छ।

विज्ञप्ति सहायक प्रवक्ता रविन्द्र आचार्यद्वारा जारी गरिएको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.