हेटौंडा, मंसिर २८ गते । जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रतिबन्धित लागू औषध गाँजा २२ किलो ६० ग्रामसहित एक महिलालाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार मिति २०८२ साल मङ्सिर २७ गते अपरान्ह ३ बजेर २० मिनेटको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ लेवटस्थित पूर्व–पश्चिम सडक खण्डमा गस्तीमा खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा हिँडिरहेकी एक महिलालाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएकी महिला मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ४५ की लक्ष्मीमाया गोले रहेको प्रहरीले जनाएको छ। खानतलासीका क्रममा उनले बोकेको जेब्रा झोलाभित्र २२ किलो ६० ग्राम प्रतिबन्धित लागू औषध गाँजा फेला परेको थियो।
बरामद लागू औषधसहित लक्ष्मीमाया गोलेलाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागू औषध कसुर मुद्दामा म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन्।














