हेटौँडा, चैत १२ गते । वर्षायाम नजिकिँदै जाँदा हेटौंडा उपमहानगरपालिका–५ भैरब रोड क्षेत्रमा पुनः डुवानको समस्या दोहोरिने संकेत देखिएको छ। स्थानीयका अनुसार सडक क्रस गर्ने स्थानमा राखिएको सानो होमपाइपका कारण पानी निकास प्रभावकारी नहुँदा वर्षा हुनेबित्तिकै पानी सडकमै जम्ने समस्या विगतदेखि नै रहँदै आएको छ।
स्थानीय बासिन्दाहरूले समयमै अनुगमन गरी नाली फराकिलो बनाउने, पानी निकासको दीर्घकालीन व्यवस्थापन गर्ने र यस्ता समस्याको समाधानमा सम्बन्धित निकायले चासो दिनुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार सामान्य संरचनागत कमजोरीकै कारण हरेक वर्ष सास्ती बेहोर्नु परिरहेको छ।

यसैबीच सार्वजनिक जग्गाको संरक्षणमा समेत कमजोरी देखिएको भन्दै गुनासो बढेको छ। जथाभावी प्रयोग, लुगा सुकाउने जस्ता गतिविधिले “सुन्दर सहर हेटौंडा” भन्ने नारामै प्रश्न उठेको स्थानीयको भनाइ छ। साथै, रोड ब्लक व्यवस्थापन पनि असमान र अव्यवस्थित रहेको उनीहरूले बताएका छन्।

स्थानीयको गुनासोलाई सहजीकरण गर्दै सामाजिक अभियान्ता तथा संस्थाका अध्यक्ष विशालराज महतले सामाजिक सञ्जाल फेसबुकमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनले नाली तथा पानी निकासको दीर्घकालीन समाधान, होमपाइप सुधार र सार्वजनिक जग्गाको संरक्षणमा तत्काल कदम चाल्न आग्रह गरेका छन्।
स्थानीयले समयमै आवश्यक सुधार नभए आगामी वर्षायाममा समस्या झन् जटिल बन्ने चेतावनी दिएका छन्।














