काठमाडौँ, चैत १८ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशनपछि नापी विभागले देशभरका भूमि तथा नापी कार्यालयहरूमा अनधिकृत व्यक्ति (बिचौलिया) को प्रवेशमा कडाइ गर्ने व्यवस्था लागू गर्न आग्रह गरेको छ। सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी तथा गुनासोरहित बनाउने उद्देश्यसहित यस्तो कदम चालिएको हो।
मन्त्रालयको च.नं. ११३०, मिति २०८२ साल चैत १८ गतेको पत्र तथा सोही मितिको सचिवस्तरीय निर्णयका आधारमा नापी विभाग योजना तथा जग्गा प्रशासन शाखाले सबै विशेष नापी कार्यालय, नापी कार्यालयहरू तथा नापी कार्यालय बनेपा (डिजिटल) लाई निर्देशन जारी गरेको हो।
जारी निर्देशन अनुसार अब कार्यालयमा प्रवेश गर्नुअघि सेवाग्राहीले अनिवार्य रूपमा आफ्नो परिचय खुल्ने कागजात देखाउनुपर्नेछ। साथै, अनधिकृत व्यक्तिहरूलाई कार्यालय परिसरभित्र प्रवेश पूर्ण रूपमा निषेध गरिने र उनीहरूलाई कुनै पनि सरकारी अभिलेख तथा कागजातमा पहुँच नदिने व्यवस्था मिलाउन भनिएको छ।
नापी विभागले कार्यालयहरूमा अनावश्यक भिडभाड रोक्न सम्बन्धित कामका लागि आएका व्यक्तिलाई मात्र प्रवेश दिने व्यवस्था तत्काल लागू गर्न पनि निर्देशन दिएको छ। कर्मचारीहरूले समेत अनिवार्य रूपमा परिचयपत्र लगाएर सेवा दिनुपर्ने उल्लेख गरिएको छ।
उक्त व्यवस्था कार्यान्वयन भए नभएको विषयमा जुनसुकै बेला अनुगमन गरिने र निर्देशन कार्यान्वयन नभएको पाइएमा सम्बन्धित कार्यालय प्रमुख स्वयं जिम्मेवार हुने चेतावनी समेत दिइएको छ।
नापी अधिकृत गणेश प्रसाद सिग्देलद्वारा जारी सूचनामा यस व्यवस्थाबारे सूचना पार्टीमार्फत जानकारी गराउन र कार्यान्वयनको विवरण विभागमा पठाउन समेत आग्रह गरिएको छ।















