हेटौडा,बैशाख ३ गते । मकवानपुर जिल्लामा फोनमार्फत ज्यान मार्ने धम्की दिएको आरोप लगाउँदै एक व्यक्तिले जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गराएका छन्।

हेटौडा उपमहानगरपालिका–६ रामनगर निवासी ४४ वर्षीय नरहरी चौलागाईंले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन पेश गर्दै आफ्नो जिउधनको सुरक्षाको माग गरेका हुन्।
निवेदनअनुसार हेटौडा–५ भैरव रोड निवासी अन्दाजी ४० वर्षीय टाका राज थापा (सुरेश)ले वैशाख २ गते साँझ करिब ६:१८ बजे फोनमार्फत सम्पर्क गरी अश्लील शब्द प्रयोग गर्दै झुटा आरोप र लाञ्छना लगाउनुका साथै ज्यान मार्ने धम्की दिएको आरोप लगाइएको छ।
चौलागाईंले उक्त घटनाको प्रमाणस्वरूप भ्वाइस रेकर्ड सुरक्षित राखेको र आवश्यक पर्दा पेश गर्ने बताएका छन्। साथै, आफू मात्र नभई आफ्नो परिवारका सदस्यहरू समेत असुरक्षित महसुस गरिरहेको उल्लेख गर्दै विपक्षीलाई झिकाई आवश्यक अनुसन्धान तथा कारबाही गर्न माग गरेका छन्।
राजनीतिक सन्दर्भमा चौलागाईं राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर क्षेत्र नम्बर–१ का नगर सदस्य हुन् भने आरोपित थापा सोही पार्टीका सभापति रहेको बताइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














