कच्चापदार्थ र ढुवानी खर्च बढ्दा प्रशोधित पानी उद्योग संकटमा, मूल्य समायोजन अपरिहार्य

काठमाडौं,बैशाख ५ गते । नेपालमा प्रशोधित पिउने पानी उद्योग गम्भीर आर्थिक दबाबमा परेको छ। ६२० भन्दा बढी उद्योग मार्फत ३० हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको र १६ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको यो क्षेत्रले हाल कच्चा पदार्थको मूल्य वृद्धि, ढुवानी खर्चमा वृद्धि तथा अन्तर्राष्ट्रिय परिस्थितिको प्रभावका कारण चुनौतीपूर्ण अवस्था सामना गरिरहेको नेपाल पानी उद्योग महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार उद्योगमा प्रयोग हुने बोटल, क्याप, र्यापिङ्ग सामग्री, जार लगायत कच्चा पदार्थहरूको मूल्य ४० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। त्यस्तै डिजेल तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण ढुवानी लागत पनि उल्लेखनीय रूपमा बढेको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता, विशेषगरी इरान–इजरायल तनाव तथा इरान–अमेरिका सम्बन्धमा विकसित अवस्थाले कच्चापदार्थ आपूर्ति प्रणालीमा समेत असर पारेको जनाइएको छ।

यसका कारण उद्योग सञ्चालन खर्च अस्वाभाविक रूपमा बढेको र हाल कायम मूल्यमा प्रशोधित पिउने पानी बिक्री गरेर उद्योग सञ्चालनलाई निरन्तरता दिन कठिन भएको महासङ्घको निष्कर्ष छ। महासङ्घले विभिन्न उद्योग, जिल्ला तथा प्रदेश सङ्घहरू र सरोकारवाला निकायसँग परामर्श तथा अध्ययनपछि यस्तो निष्कर्ष निकालेको जनाएको छ।

महासङ्घले मूल्य समायोजनलाई नाफामूलक निर्णय नभई बाध्यात्मक कदमका रूपमा व्याख्या गर्दै सदस्य उद्योगहरूलाई कच्चापदार्थ तथा सञ्चालन लागत वृद्धि अनुसार पानीको मूल्य समायोजन गर्न अनुरोध गरेको छ। उद्योग सञ्चालन, रोजगारी संरक्षण, उपभोक्तामा नियमित आपूर्ति र गुणस्तर कायम राख्न मूल्य समायोजन अपरिहार्य भएको महासङ्घले स्पष्ट पारेको छ।

साथै, महासङ्घले नेपाल सरकारसँग उद्योग सञ्चालन सहज बनाउन कूटनीतिक पहल, ढुवानी तथा लागत नियन्त्रणका उपाय र उद्योगमैत्री नीतिगत सहजीकरणका लागि आवश्यक कदम चाल्न आग्रह गरेको छ।

महासङ्घले आम उपभोक्ता, व्यवसायी, सञ्चारमाध्यम तथा सम्बन्धित निकायहरूलाई हालको मूल्य समायोजनलाई उद्योग संरक्षण, रोजगारी सुरक्षा र सेवा निरन्तरताका लागि आवश्यक कदमका रूपमा बुझी सहयोग गर्न अनुरोध गरेको छ। उद्योगको हित, उपभोक्ताको हित र राष्ट्रिय अर्थतन्त्रलाई केन्द्रमा राख्दै आवश्यक पहलमा सक्रिय रहने प्रतिबद्धता समेत महासङ्घले व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.