कैलाली,जेठ ८ गते। कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरीको राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिमका क्रममा ८ जना सशस्त्र प्रहरी जवान अचानक बेहोस भएका छन् ।
बेहोस हुने जवानहरूमा बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् । उनीहरू सशस्त्र प्रहरी जवानको आधारभूत तालिम लिइरहेका प्रशिक्षार्थी हुन् ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापा का अनुसार बेहोस भएका जवानमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थाका जवानहरूलाई तत्काल हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको उनले जानकारी दिए ।
अन्य जवानहरूको अवस्था सामान्य रहेको र उनीहरूको स्थानीय स्तरमै उपचार भइरहेको जनाइएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।














