हेटौँडा,जेठ १२ गते। बागमती प्रदेशमा एचआईभी संक्रमण दर अघिल्ला वर्षहरूको तुलनामा घट्दो क्रममा देखिए पनि संक्रमण नियन्त्रण, परीक्षण पहुँच र उपचारलाई निरन्तर प्रभावकारी बनाउने चुनौती अझै कायम रहेको सरोकारवालाहरूले बताएका छन् । सामाजिक कलंक, ढिलो परीक्षण, उपचारमा निरन्तरताको अभाव तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच कमजोर हुँदा ‘९५–९५–९५’ लक्ष्य हासिल गर्न कठिनाइ भइरहेको उनीहरूको भनाइ छ ।

स्वास्थ्य निर्देशनालय, हेटौँडाले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा हाल अनुमानित ३४ हजार ३३७ जना एचआईभी संक्रमित रहेका छन् । वयस्क जनसंख्यामा संक्रमण दर ०.१३ प्रतिशत रहेको छ भने दैनिक औसत १.७ जना नयाँ व्यक्ति संक्रमणमा पर्ने गरेका छन् ।
बागमती प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा ८८३ जनामा एचआईभी संक्रमण पुष्टि भएको थियो । यो संख्या आर्थिक वर्ष २०८०/८१ मा घटेर २०८ पुगेको थियो । चालु आर्थिक वर्ष २०८१/८२ मा भने हालसम्म ७२७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेशभर हाल १८ वटा एआरटी (ART) सेवा केन्द्र, ६ वटा ओएसटी (OST) सेवा केन्द्र तथा काठमाडौं र चितवनमा २ वटा भाइरल लोड परीक्षण केन्द्र सञ्चालनमा रहेका छन् । मकवानपुरमा एक एआरटी केन्द्र र एक ईआईडी संकलन केन्द्र सञ्चालनमा रहेको जानकारी दिइएको छ ।
निर्देशनालयका अनुसार प्रदेशमा अनुमानित ८ हजार ३२८ संक्रमितमध्ये ७ हजार १७४ जनाले मात्रै आफ्नो स्वास्थ्य अवस्था थाहा पाएका छन् । संक्रमितमध्ये ७ हजार १०४ जना नियमित उपचार सेवामा आबद्ध छन् भने ६ हजार ७० जनामा भाइरल लोड दबिएको अवस्था रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा आमाबाट बच्चामा संक्रमण रोकथाम (PMTCT) सेवा अन्तर्गत बागमती प्रदेशमा १ लाख १९ हजार ६१७ जनालाई परामर्श सेवा दिइएको थियो । तीमध्ये ९४ हजार ९९२ जनामा परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
मकवानपुरमा मात्रै ७ हजार ६९८ जनालाई परामर्श सेवा प्रदान गरिएको थियो भने ६ हजार ३७ जनामा परीक्षण गर्दा दुई गर्भवती महिलासहित संक्रमण पुष्टि भएको तथ्यांक सार्वजनिक गरिएको छ ।
त्यस्तै एचटीसी (HIV Testing and Counselling) सेवा अन्तर्गत चालु आर्थिक वर्षमा प्रदेशभर २१ हजार २२९ जनामा परीक्षण गर्दा ७२७ जनामा संक्रमण पुष्टि भएको छ । मकवानपुरमा ९ हजार ५५९ जनामा परीक्षण गर्दा गर्भवती महिलासहित ४० जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सोमबार हेटौँडामा स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको आयोजना तथा AHF Nepal को सहयोगमा सञ्चारकर्मीहरूका लागि एचआईभी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झा को अध्यक्षता तथा मकवानपुरका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा कृष्णहरि सापकोटा ले एचआईभी सम्बन्धी समाचार सम्प्रेषण गर्दा जिम्मेवार र संवेदनशील बन्नुपर्ने आवश्यकता औँल्याए । उनले तथ्यमा आधारित र नैतिक पत्रकारिताले जनचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
उनका अनुसार AIDS Healthcare Foundation विश्वकै ठूलो एचआईभी तथा एड्स स्वास्थ्य सेवा प्रदान गर्ने संस्था हो, जसले ५० देशमा ३० लाखभन्दा बढी मानिसलाई सेवा दिइरहेको छ । नेपालमा सन् २००८ मा स्थापना भएको एएचएफ नेपालले सन् २००९ देखि राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रसँग सहकार्य गर्दै सेवा सञ्चालन गर्दै आएको जानकारी दिइएको थियो ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका जनस्वास्थ्य प्रशासक सन्जु रोई ले प्रदेशको एचआईभी अवस्थाबारे तथ्यांक प्रस्तुत गर्दै काठमाडौं, पोखरा तथा तराईका सीमावर्ती क्षेत्र उच्च जोखिममा रहेको बताए ।
निर्देशनालयले लागूऔषध प्रयोगकर्ताका लागि प्रतिस्थापन उपचार सेवा, एचआईभी परीक्षण तथा परामर्श सेवा सञ्चालन गरिरहेको जनाएको छ । सन् २०२६ सम्म ‘९५–९५–९५’ लक्ष्य हासिल गर्ने योजना रहे पनि हाल प्रदेशका ८६ प्रतिशत संक्रमितले मात्रै आफ्नो स्वास्थ्य अवस्था थाहा पाएका छन् । संक्रमितमध्ये ९७ प्रतिशत उपचार सेवामा आबद्ध रहेको र उपचारमा रहेका मध्ये ८५ प्रतिशतको स्वास्थ्य अवस्था नियन्त्रणमा रहेको तथ्यांक प्रस्तुत गरिएको थियो ।













