हेटौंडा,जेठ १९ गते। हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलले मुलुकको विकास र समृद्धिका लागि संघीय, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय र जिम्मेवार बजेट कार्यान्वयन आवश्यक रहेको बताएका छन्।

सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सिग्देलले आगामी आर्थिक वर्षका लागि संघीय सरकारले जेठ १५ गते बजेट प्रस्तुत गरिसकेको, प्रदेश सरकारले असार १ गते बजेट ल्याउने तथा स्थानीय तहहरूले असार १० गतेभित्र बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गरेका छन्।
उनले संघीय सरकारले मकवानपुर जिल्लाका विभिन्न क्षेत्रका लागि कति बजेट विनियोजन गरेको छ भन्ने विषय अझै स्पष्ट रूपमा सार्वजनिक नभएको भन्दै यसबारे जिल्लावासी नागरिकहरू अनभिज्ञ रहेको बताए। विकासका विषयमा गरिने भाषण, प्रतिबद्धता र घोषणाभन्दा पनि बजेटमार्फत वास्तविक प्राथमिकता देखिनुपर्ने उनको भनाइ छ।
सिग्देलले जिल्लाको आवश्यकता, सम्भावना र जनअपेक्षाअनुसार बजेट विनियोजन भएको छ कि छैन भन्ने विषयमा आम नागरिकको चासो स्वाभाविक रहेको उल्लेख गरे। प्रदेश सरकारले योजना संकलनको कार्य सम्पन्न गरिसकेको र अब बजेट सार्वजनिक हुन बाँकी रहेको बताउँदै उनले प्रदेशको बजेटले जनअपेक्षा तथा विकासका प्राथमिकतालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे।
स्थानीय तहहरूमा बजेट निर्माण प्रक्रिया तीव्र रूपमा अगाडि बढिरहेको उल्लेख गर्दै उनले विभिन्न तहमा बहस, छलफल तथा सुझाव संकलनका कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी दिए। बजेट निर्माण सरकारको मात्र प्रक्रिया नभई नागरिक सहभागिता र सामूहिक जिम्मेवारीसँग जोडिएको विषय भएकाले स्थानीय आवश्यकता, विकासका प्राथमिकता र जनचाहनालाई समेट्ने गरी सुझाव र सहभागिता आवश्यक रहेको उनले बताए।
बजेट जनताको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुने भएकाले यसको निर्माण प्रक्रिया पारदर्शी, सहभागितामूलक र परिणाममुखी हुनुपर्नेमा जोड दिँदै सिग्देलले मकवानपुरको समग्र विकासका लागि तीनै तहका सरकारका बजेटहरूबीच स्पष्ट प्राथमिकता, समन्वय र प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताएका छन्।














