वातावरण संरक्षणमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्था सम्मानित, विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार

हेटौंडा,जेठ २३ गते। विश्व वातावरण दिवस–२०८३ को अवसरमा “समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने नारासहित हेटौंडामा सञ्चालन गरिएको सप्ताहव्यापी कार्यक्रम हिजो सम्मान, पुरस्कार वितरण तथा समापन समारोहसहित सम्पन्न भएको छ।

हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाको आयोजनामा सम्पन्न कार्यक्रम समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो। कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख अतिथि रहेका थिए।

समारोहमा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री तथा हेटौंडा उपमहानगरपालिकाका पूर्व नगरप्रमुख डोरमणी पौडेल, वन तथा वातावरण मन्त्री भरतकुमार केसी, प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितकुमार घलान, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँलगायत विभिन्न राजनीतिक दल, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी तथा सामाजिक अगुवाहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले वातावरण संरक्षणलाई व्यवहारमा उतार्न समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताए। जलवायु परिवर्तनका चुनौतीसँग जुध्न सरकार, स्थानीय तह, समुदाय र नागरिकबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।

पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडामा टोल विकास संस्थामार्फत समुदायमा आधारित विकास र वातावरण संरक्षण अभियानको सुरुवात भएको स्मरण गर्दै वातावरणीय सचेतना अभिवृद्धिमा टोल विकास संस्थाहरूको महत्वपूर्ण भूमिका रहेको बताए।

वन तथा वातावरण मन्त्री भरतकुमार केसीले प्राकृतिक स्रोत संरक्षण, प्लास्टिकजन्य प्रदूषण नियन्त्रण तथा हरियाली प्रवर्द्धनमा सबै पक्षको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै वातावरणमैत्री विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए।

कार्यक्रममा समितिका अध्यक्ष अधिकारीले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सञ्चालन गरिएका वृक्षारोपण, सरसफाइ अभियान, प्लास्टिक न्यूनीकरण, फोहोर खोज चुनौती, विद्यालयस्तरीय प्रतियोगिता, वातावरणीय संवाद, सचेतनामूलक र्याली तथा अन्य कार्यक्रमहरूको समीक्षात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए।

यस अवसरमा वातावरण संरक्षण, सरसफाइ, हरियाली प्रवर्द्धन, जैविक विविधता संरक्षण तथा सामुदायिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूलाई ‘वातावरण सम्मान–२०८३’ प्रदान गरिएको थियो।

खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा योगदान पुर्‍याएबापत वरिष्ठ पत्रकार तथा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्ट सम्मानित भएका थिए। त्यस्तै हेटौंडा–११ स्थित बुद्ध पार्क निर्माण तथा संरक्षणमा योगदान पुर्‍याएबापत सिद्धिलाल श्रेष्ठलाई सम्मान गरिएको थियो।

विद्यालयतर्फ वातावरणीय सरसफाइ तथा हरियाली प्रवर्द्धनमा उत्कृष्ट कार्य गरेबापत भुटनदेवी माध्यमिक विद्यालय सम्मानित भएको थियो। त्यसैगरी पशुपति मन्दिर, कुशमान्ड सरोवर त्रिवेणीधाम, शहीद स्मारक विकास समिति तथा रानी सामुदायिक वनलाई वातावरण संरक्षण र व्यवस्थापनमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान प्रदान गरिएको थियो।

वडा कार्यालयहरूमध्ये वातावरणीय व्यवस्थापन तथा हरियाली प्रवर्द्धनमा उत्कृष्ट कार्य गरेबापत हेटौंडा उपमहानगरपालिका–१० सम्मानित भएको थियो। उत्कृष्ट टोल विकास संस्था वडा समन्वय समितिका रूपमा हेटौंडा–११ वडा समन्वय समिति सम्मानित भएको थियो भने वातावरणीय कार्यक्रम सञ्चालनमा महत्वपूर्ण भूमिका खेलेबापत हेटौंडा–११ वडा कार्यालयलाई विशेष सम्मान प्रदान गरिएको थियो।

सर्प उद्धार तथा व्यवस्थापनमा योगदान पुर्‍याएबापत राजेश थापा र विश्वास कोइरालालाई सम्मान गरिएको थियो। त्यस्तै डिभिजन वन कार्यालय मकवानपुर, सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा–११, ज्ञानदिप टोल विकास संस्था, शान्तिचोक टोल विकास संस्था, सामुदायिक विकास तथा सचेतना नेपाल, पशुपति हेल्थ क्लबलगायत विभिन्न संघ–संस्थाहरू पनि सम्मानित भएका थिए।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आयोजित विभिन्न प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो। सचेतनामूलक र्याली प्रतियोगितामा विकास टोल विकास संस्था प्रथम, कालिकामाई टोल विकास संस्था द्वितीय तथा फारलाइन टोल विकास संस्था तृतीय भएका थिए।

खेर गएका वस्तुबाट उत्पादित सामग्री प्रतियोगितामा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय प्रथम, नवोदय शिशु सदन द्वितीय तथा सिद्धार्थ माध्यमिक विद्यालय तृतीय भएका थिए। फोहोर खोज चुनौती प्रतियोगितामा कालिका टोल विकास समूह ‘ख’ प्रथम, विकास टोल विकास संस्था द्वितीय तथा मनकामना ‘क’ टोल विकास संस्था तृतीय भएका थिए।

समापन समारोहमा वक्ताहरूले वातावरण संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण, सरसफाइ प्रवर्द्धन तथा हरियाली विस्तारमार्फत दिगो विकासका लक्ष्य हासिल गर्न सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिएका थिए। आयोजकका अनुसार सप्ताहव्यापी कार्यक्रमले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै समुदायस्तरमा वातावरणमैत्री अभ्यासलाई थप प्रोत्साहन गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.