हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढी नागरिक लाभान्वित

हेटौंडा,जेठ ३० गते। हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपाल हृदयरोग निवारण प्रतिष्ठानको सह–आयोजना, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको विशेष सहयोग तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाको व्यवस्थापनमा शिविर सञ्चालन गरिएको हो।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुरका वरिष्ठ उपाध्यक्ष ध्रुव भुजेलको अध्यक्षतामा आयोजित कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार भीमसागर गुरागाईं तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाका अध्यक्ष ध्रुव प्रसाद अधिकारीलगायतको उपस्थिति रहेको थियो।

शिविरबाट हेटौंडा–४ सहित विभिन्न क्षेत्रका ६ सयभन्दा बढी नागरिकले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्। शिविरमा मुटुरोग, स्त्रीरोग तथा क्षयरोग सम्बन्धी विशेषज्ञ सेवा, ईसीजी, इको परीक्षण, छातीको एक्स–रे, पीएफटी (दम परीक्षण), सुगर तथा लिपिड प्रोफाइल परीक्षण, महिलाको पाठेघर तथा पाठेघरमुखको क्यान्सर परीक्षण, सामान्य स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो। साथै आवश्यक परेका बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै सरकार स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउन प्रतिबद्ध रहेको बताए। उनले यस्ता शिविरले समयमै रोग पहिचान गर्न, उपचारमा सहजता ल्याउन तथा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

वडा अध्यक्ष नवीन सिग्देलले वडा कार्यालयले स्वास्थ्य, शिक्षा र सामाजिक विकासलाई प्राथमिकतामा राख्दै विभिन्न जनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण गराएका नागरिकप्रति धन्यवाद व्यक्त गरे।

कार्यक्रम व्यवस्थापक तथा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले स्वस्थ नागरिक नै समृद्ध समाजको आधार भएको उल्लेख गर्दै समुदायस्तरमा स्वास्थ्य सचेतना बढाउन यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए। उनले शिविर सफल बनाउन सहयोग गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्काउट, नगरप्रहरी, सञ्चारकर्मी, सहयोगी संस्था तथा सहभागी नागरिकप्रति आभार व्यक्त गरे।

विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा जनप्रतिनिधिको सक्रिय सहभागितामा सम्पन्न शिविरले समुदायका नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको भनाइ छ। साथै भविष्यमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.