सार्वजनिक कार्यक्रममा विवाद चर्किँदा पत्रकार ऐश्वर्या कुँवर पक्राउ, ‘मुक्काप्रहार’ पछि अभद्र व्यवहार मुद्दा दर्ता

कञ्चनपुर,असार ८ गते। कञ्चनपुरको भीमदत्त नगरपालिकामा आयोजित एक सार्वजनिक कार्यक्रममा भएको विवादले पत्रकार र जनप्रतिनिधिबीचको सम्बन्धलाई लिएर नयाँ बहस सिर्जना गरेको छ। भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटा माथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेपछि घटना अहिले स्थानीयस्तरमै चर्चाको विषय बनेको छ।

प्रहरीका अनुसार महेन्द्रनगरस्थित एक होटलमा सञ्चालन भइरहेको कार्यक्रममा दुवै पक्षबीच भनाभन भएको थियो। विवाद बढ्दै जाँदा पत्रकार कुँवरले वडाध्यक्ष देवकोटामाथि मुक्का प्रहार गरेको आरोप छ। घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विषयले थप चर्चा पाएको हो।

घटनापछि वडा प्रहरी कार्यालयको टोलीले कुँवरलाई नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावत ले वडाध्यक्षको किटानी जाहेरीका आधारमा अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको जानकारी दिएका छन्। अदालतबाट म्याद थपको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यता पत्रकार कुँवरले भने सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफू नै दुर्व्यवहारको शिकार बनेको दाबी गरेकी छन्। उनले वडाध्यक्ष देवकोटाबाट अपमानजनक व्यवहार भएपछि घटना उत्पन्न भएको संकेत गरेकी छन्।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। सार्वजनिक कार्यक्रममा भएको विवाद, पत्रकार पक्राउ र दुवै पक्षका आरोप–प्रत्यारोपले अहिले कञ्चनपुरको सामाजिक तथा राजनीतिक वृत्तमा व्यापक बहस निम्त्याएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.