हेटौंडा, असोज १८ गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ सानोपोखराबाट प्रहरीले लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक महिलालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार सानोपोखरा निवासी ३१ वर्षीया सुष्मा तिमल्सिनाले बिक्री वितरण गर्ने उद्देश्यले घरमा लागूऔषध खैरो हेरोइन लुकाएर राखेको भन्ने गोप्य सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय सानोपोखराबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी टोलीले राति करिब १२ः१५ बजे तिमल्सिनाको घरमा पुगेर कानुनी प्रक्रिया पूरा गरी खानतलासी गरेको थियो। खानतलासीका क्रममा निजले सुत्ने गरेको कोठामा रहेको कपडा राख्ने स्टिलको दराजमा लुकाएर राखिएको अवस्थामा प्लास्टिकको एक पुरियामा खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
बरामद पदार्थको प्लास्टिक हटाई शुद्ध तौल गर्दा ३ ग्राम ८५० मिलिग्राम रहेको प्रहरीले जनाएको छ। उक्त पदार्थ बरामद गरी तिमल्सिनालाई समेत नियन्त्रणमा लिइएको छ।
प्रहरीले उनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई हिरासतमा राखेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















