हेटौँडा असोज २१ गते । भीमफेदी गाउँपालिका–६ धानगोदाममा भएको सवारी दुर्घटनामा हेटौंडा उपमहानगरपालिका–५ का २५ वर्षीय महेश्वर घिमिरे खत्रीको मृत्यु भएको घटनाको निष्पक्ष अनुसन्धान गर्न माग गरिएको छ।
सेवा, सहयोग र आवाजमा हामीका अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महतले सामाजिक सञ्जाल फेसबुक मार्फत घटनाको सत्यतथ्य निष्पक्ष अनुसन्धानबाट बाहिर ल्याउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
महतले घटनालाई लिएर जिल्ला प्रहरी कार्यालयमा छलफल समेत गरिएको उल्लेख गरेका छन्। छलफलका क्रममा दुर्घटनाको सत्यतथ्य निष्पक्ष रूपमा अनुसन्धान गर्नुपर्ने, घटनासँग सम्बन्धित सबै पक्षको भूमिका कानुनी प्रक्रियाअनुसार अनुसन्धानको दायरामा ल्याउनुपर्ने तथा पीडित परिवारले न्यायको अनुभूति गर्न सक्ने वातावरण बनाउनुपर्ने विषयमा ध्यानाकर्षण गराइएको उनले बताएका छन्।
उनका अनुसार घटनाको अनुसन्धान गर्दा घाइतेको भनाइ, प्रत्यक्षदर्शीका विवरण, घटनास्थलको अवस्था तथा सवारीसाधनमा रहेका व्यक्तिहरूको भूमिकालगायत सबै पक्षलाई प्रमाणका आधारमा अध्ययन गर्न आवश्यक छ। महतले घटनाका सम्बन्धमा उजुरीसमेत दर्ता भएको जानकारी दिँदै अबको अनुसन्धानबाट दुर्घटनाको वास्तविक कारण र जिम्मेवारी स्पष्ट हुने विश्वास व्यक्त गरेका छन्।
उनले कसैलाई पूर्वाग्रहका आधारमा दोषी ठहर गर्नु उद्देश्य नभएको स्पष्ट पार्दै अनुसन्धानबाट दोषी देखिए कानुनअनुसार कारबाही र निर्दोष भए त्यसको समेत स्पष्ट निरुपण हुनुपर्ने बताएका छन्। सम्बन्धित निकायलाई कुनै दबाब वा प्रभावबिना निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन आग्रह गर्दै महतले पीडित परिवारले न्यायको अनुभूति गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।
दुर्घटनामा ज्यान गुमाएका महेश्वर घिमिरे खत्रीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि व्यक्त गरेका छन्।














