सडक दुर्घटना, साइबर अपराध र लागूऔषध दुर्व्यसनी नियन्त्रणमा नागरिक सचेतना आवश्यक : वडाध्यक्ष सिग्देल

हेटौँडा, कार्तिक १५ गते । हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले सहरी क्षेत्रमा बढ्दै गएका सडक दुर्घटना, साइबर अपराध, महिला, ज्येष्ठ नागरिक तथा बालबालिकामाथि हुने हिंसा र लागूऔषध दुर्व्यसन समाजका प्रमुख चुनौतीका रूपमा रहेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वडाध्यक्ष सिग्देलले यी समस्याहरू एकअर्कासँग अन्तरसम्बन्धित हुन सक्ने उल्लेख गरेका छन्। समाजमा शान्ति र सुरक्षा कायम गर्न यस्ता समस्यालाई निरुत्साहित गर्नु आवश्यक रहेको उनको भनाइ छ।

उनले सडक दुर्घटना, साइबर अपराध, महिला तथा बालबालिकामाथि हुने शारीरिक र मानसिक हिंसा तथा लागूऔषध दुर्व्यसन न्यूनीकरणका लागि प्रत्येक नागरिक सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्। दैनिक जनजीवनमा आवश्यक सावधानी अपनाउने र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने हो भने यस्ता समस्यालाई न्यूनीकरण गर्न सकिने उनको धारणा छ।

वडाध्यक्ष सिग्देलले स्थानीय सरकार, स्थानीय समुदाय र स्थानीय प्रशासनबीचको सहकार्यबाट मात्रै समाजमा देखिएका यस्ता समस्याको प्रभावकारी समाधान खोज्न सकिने बताएका छन्।

यस्ता समस्याले प्रत्यक्ष रूपमा मानवीय जीवनमा क्षति पुर्‍याइरहेको उल्लेख गर्दै उनले मानवीय जीवन नै सुरक्षित हुन नसके अन्य विकासको कुनै अर्थ नरहने बताएका छन्। भौतिक विकासले मात्रै समृद्ध समाज निर्माण नहुने भन्दै मानवीय विकासमा बाधक बनेका सामाजिक विकृति र समस्याहरूको अन्त्य गर्नुपर्नेमा उनले जोड दिएका छन्।

समाजलाई सुरक्षित, सभ्य र जिम्मेवार बनाउन सबै नागरिक एकजुट हुनुपर्ने सन्देश दिँदै वडाध्यक्ष सिग्देलले सभ्य समाज निर्माणको अभियानमा जुट्न सबैलाई आह्वान गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.