मोरङ। उर्लाबारी – ६ हाटखोलामा रहेको उर्लाबारी युवा क्लबको संरचना अब सम्झनामा मात्र सीमित हुने भएको छ। बिक्रम संवत् २०५८ सालमा स्थानीय युवाहरूलाई संगठित गर्दै बरुण लाबुङको सम्योजकत्वमा गठित समितिको पहलमा स्थापना भएको यो क्लब सामाजिक तथा खेलकुद गतिविधिमा निकै अगाडि रहँदै आएको थियो।
मिरमिरे युवा क्लबको बिरासतका रुपमा परिचित यस संस्थाले दुर्व्यसन मुक्त समाज निर्माणको उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै २४ वर्ष लामो यात्रा तय गरेको छ । दिपेन्द्र स्मृति पुर्वाञ्चल स्तरीय फुटबल प्रतियोगिता मार्फत संगठित भएको क्लबले सरसफाइ,बजार ब्यवस्थापन,सडक बत्ती जडान,छाडा चौपाया नियन्त्रण,उर्लाबारी चौकमा सार्वजनिक सौचालय निर्माण,उपेन्द्र थापा गोल्डकप फुटबल प्रतियोगिताका साथै तत्कालीन समयमा विद्युतको महसुल काउन्टर उर्लाबारीमा स्थापना गर्ने र टेलिकम को कार्यालय उर्लाबारीमा ल्याउन हस्ताक्षर संकलन सहितको अभियान सञ्चालन गरेको थियो ।
स्थापना कालमा पुष्पा योञ्जन र किसोर पालुङ्वाको घरमा निशुल्क रूपमा रहेको कार्यालय बजार ब्यवस्थापन लगाएतका कार्यमा मिनि गाबिसको काम गरे बापत तत्कालीन समयमा सर्वदलीय संयन्त्रको निर्णय बमोजिम २०६०मा आफ्नै कार्यालय निर्माण गरेको क्लबले बजार ब्यवस्थापनमै सहयोग पुर्याउन आफ्नो कार्यालय भत्काउनु परेको क्लबका पुर्व अध्यक्ष बाजहाङ राईले जानकारी दिए।
बजार विस्तारको योजना सँगै उर्लाबारी नगरपालिका मातहतको जमिनमा निर्माण भएको यो संरचना भत्काइको छ । नगरपालिकाले उक्त स्थानमा व्यवस्थित कृषि बजार सञ्चालन गर्ने भएपछि क्लबलाई स्थान छाड्न आग्रह गरेको थियो । क्लबका अध्यक्ष तुलबहादुर थापाले, नगरपालिका को योजनालाई सम्मान गर्दै हामीले स्थान छाड्न लागेको हो। तर यो क्लब नगरकै पहिचानसँग जोडिएको थियो,त्यसैले केही भावुक त छौं,” भन्दै विगतको योगदानलाई सम्झिए। लामो समयसम्म सामाजिक अभियानमा अग्रणी भूमिका खेलेको उर्लाबारी युवा क्लबको योगदान स्थानीयबासीले उच्च मूल्यांकन गर्दै आएका छन्।














