काठमाडौं। प्यालेस्टिनी लडाकु समूह हमासले १९ महिनाअघि बन्धक बनाएका इजरायली–अमेरिकी नागरिक एडन अलेक्ज्यान्डरलाई रिहा गरेको छ। २१ वर्षीय अलेक्ज्यान्डरलाई सोमबार राति गाजा सिटीको खान युनिस क्षेत्रबाट रिहा गरिएको हो।
अमेरिकी नागरिक अलेक्ज्यान्डर अमेरिकाबाट आएर इजरायली सेनामा भर्ना भएका थिए। उनी २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणका क्रममा अपहरणमा परेका थिए। अलेक्ज्यान्डरको रिहाइलाई कूटनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आसन्न मध्यपूर्व भ्रमण र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको बढ्दो आलोचनाका बीच हमासले एकपक्षीय रूपमा ‘अमेरिकाप्रति सद्भावना’ देखाएको विश्लेषण गरिएको छ। हमासले यो कदमलाई कुनै सम्झौताको रूपमा नभई विशुद्ध रूपमा सद्भावको प्रदर्शन भनेको छ।
यद्यपि, इजरायली प्रधानमन्त्री नेतन्याहूले अलेक्ज्यान्डरको रिहाइबारे कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्। तर, उनले यसअघि बन्धकहरूको रिहाइका लागि कुनै पनि सम्झौतामा नपुग्ने र गाजामा हमासविरुद्धको सैन्य अभियान जारी राख्ने अडान लिँदै आएका छन्।
एडन अलेक्ज्यान्डर गाजामा हमासद्वारा बन्धक बनाइएका अन्तिम जीवित अमेरिकी नागरिक थिए। उनको रिहाइले अमेरिकालाई ठूलो राहत मिलेको अनुमान गरिएको छ। अब उनको स्वास्थ्य परीक्षण र परिवारसँग पुनर्मिलनको प्रक्रिया अगाडि बढ्ने बताइएको छ।
विश्लेषकहरूले हमासको यो कदमलाई मध्यपूर्वमा बढ्दो तनाव कम गर्ने प्रयासको रूपमा पनि हेर्न सकिने बताएका छन्। तर, इजरायलको प्रतिक्रिया र आगामी दिनका घटनाक्रमले यसको थप पुष्टि गर्नेछ।













