कालिकोट। कर्णाली राजमार्गअन्तर्गत खुलालु–लालीघाट सडकखण्ड आगामी मंगलबार (जेठ २० गते) देखि चार दिनका लागि पूर्णरुपमा बन्द हुने भएको छ।
सडक मर्मत तथा स्तरोन्नतिका लागि सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय, कालिकोटले जनाएको छ। यो सडकखण्ड बन्द हुँदा कालिकोट, बाजुरा र हुम्लाका नागरिकलाई प्रत्यक्ष रूपमा असुविधा हुनेछ। जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सरोकारवालाहरूको बैठकले जेठ २० गते बिहानदेखि २४ गते बेलुकीसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माका अनुसार कर्णाली राजमार्ग हुँदै आएका गाडी जिते हुल्ममा रोकिनेछन्। त्यसैगरी, हुम्ला, बाजुरा र कालिकोटका विभिन्न स्थानबाट आएका गाडी लालीघाटमै रोकिएर यात्रुहरूलाई त्यहीँबाट गन्तव्यतर्फ पठाइनेछ। सडक डिभिजन कार्यालयमार्फत ठेक्का सम्झौता भई निर्माणाधीन खुलालु-लालीघाट सडकखण्डमा आवश्यक संरचना निर्माण गर्नुपर्ने भएकाले करिब एक किलोमिटर सडक खण्ड बन्द गर्नुपरेको प्रशासनले जानकारी दिएको छ।
करिडोर साँघुरो र अप्ठ्यारो भएकाले निर्माण कार्य सहज बनाउन यो निर्णय गरिएको बताइएको छ। प्रशासनले यात्रुहरूलाई वैकल्पिक व्यवस्थाको लागि तयारी गर्न आग्रह गरेको छ।














