वीरगन्ज। वीरगन्जस्थित बाल सुधारगृहका एक चौकीदारलाई कैदीबन्दीहरूलाई धम्क्याएर १० लाखभन्दा बढी रकम असुलेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। लागूऔषध सम्बन्धी कसुरमा कैद भुक्तान गरिरहेका सिरहाको लहान नगरपालिका-३ का २४ वर्षीय प्रमानन्द गुप्तालाई बुधबार छुट्ने दिन पक्राउ गरिएको हो।
पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार, गुप्ताले बाल सुधारगृहमा चौकीदारको हैसियतमा रहँदा १० जना बाल कैदीबन्दीलाई दबाब र प्रभावमा पारी नगद तथा इसेवा मार्फत १० लाख १५ हजार रुपैयाँ असुल गरेको आरोप छ। गुप्ता छुट्ने दिन पीडित बाल कैदीबन्दीहरूले सुधारगृह प्रशासन र त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीलाई जानकारी गराएपछि प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएको हो।
प्रहरीले गुप्तालाई हिरासतमा राखी ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको उपरीक्षक मिश्रले जानकारी दिएकाछन्।














