हेटौंडा, कार्तिक १ गते । क्यान्सर पत्ता लगाउने नयाँ रगत परीक्षणले चिकित्सकीय जगतमा नयाँ आशा जगाएको छ। अमेरिका र क्यानडामा गरिएको अध्ययनले यो परीक्षणले ५० भन्दा बढी प्रकारका क्यान्सर पहिचान गर्न सक्ने देखाएको हो। विशेषगरी ती क्यान्सरमध्ये करिब तीन–चौथाईका लागि अहिले कुनै नियमित स्क्रिनिङ कार्यक्रम नहुँदा यस परीक्षणलाई ठूलो उपलब्धि मानिएको छ।
अध्ययनका अनुसार, उक्त परीक्षणले आधाभन्दा बढी क्यान्सर प्रारम्भिक चरणमै पत्ता लगाएको छ, जसको उपचार तुलनात्मक रूपमा सजिलो र पूर्ण रूपमा सम्भव हुने बताइन्छ।
यो नवीन परीक्षण अमेरिकी औषधि कम्पनी ग्रेल (Grail) ले विकास गरेको हो। यसले ट्युमरबाट अलग भएका र रगतमा परिसंचरण गरिरहेका क्यान्सरयुक्त डीएनएका स–साना अंशहरू पहिचान गरेर रोगको उपस्थितिको संकेत दिन्छ।
हाल बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (NHS) ले यो परीक्षणको प्रभावकारिता मूल्यांकन गर्दै परीक्षणरत अवस्थामा राखेको छ। विशेषज्ञहरूले यसलाई भविष्यमा क्यान्सरको प्रारम्भिक निदानका लागि अत्यन्त उपयोगी उपकरण बन्न सक्ने विश्वास व्यक्त गरेका छन्।














