काठमाडौँ, मंसिर ६ गते । कन्टेन्ट क्रियटर अर्जुन ARK माथि भएको आक्रमणप्रति सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ। ARK ले तयार पारेको एउटा ‘रोस्ट’ भिडियोका कारण केही व्यक्तिहरू उक्सिएर शारीरिक आक्रमणमा उत्रिएको भन्दै विभिन्न व्यक्तिहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

हिमेश पन्तले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिंदै आक्रमणलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको खुला चुनौती बताएका छन्। उनले हास्य सहन नसक्ने, तर्क बुझ्न नसक्ने र नेताको पक्षमा अन्धविश्वासपूर्ण रुपमा लाग्ने समूहकै कारण देश बिग्रिएको टिप्पणी गरेका छन्।
उनले सरकारलाई जनताको सुरक्षामा ध्यान दिन र ‘मासुभाते गुन्डा’ भन्दै उल्लेख गरिएका आक्रमणकारीहरूमाथि कडा कारबाही गर्न माग गरेका छन्।
“हिजो ARK लाई कुटे, आज कसैको मिमले पोल्यो भने? भोलि कसैले सत्य बोल्दा पनि कुट्न जाने हो?” भन्दै पन्तले सरकारको मौनताले नै यस्तो वातावरण सिर्जना भएको आरोप लगाए।
यस घटनापछि अभिव्यक्ति स्वतन्त्रताको सुरक्षा, अनलाइन क्रियेटरहरूको सुरक्षा व्यवस्था र आक्रमणकारीमाथि कडा कदम चाल्नुपर्ने माग तीव्र हुँदै गएको छ।














