हेटौंडा, पुस ५ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मकवानपुरका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राम सीले सहकारीमा जनताको पैसा हिनामिना गरिएको प्रकरणमा रबिको संलग्नता रहेको दाबी गर्दै कडा आलोचना गरेका छन्।
सामाजिक सञ्जालमा स्टाटस सार्वजनिक गर्दै नेता राम सीले सहकारी ठगी प्रकरणमा रबिको हात रहेको कुरा धरौटी बिगो दुई करोड ७४ लाख रुपैयाँले स्पष्ट देखाउने बताएका छन्। उनले रबि अझै पनि अदालतको अनुसन्धानको दायराभित्र नै रहेको उल्लेख गर्दै जेलबाट छुट्नु रबिको व्यक्तिगत जीवनका लागि सुखद भए पनि आम जनताका लागि दुःखद पक्ष भएको टिप्पणी गरेका छन्।
उनले सहकारी ठगको पछाडि लाग्ने मानिसहरूको कमी नरहेको उल्लेख गर्दै देश र जनताको चेतनास्तरमाथि प्रश्न उठाएका छन्। “कस्तो देश भएछ, कस्तो जनता भएछ, ठिक–बेठिक पनि नहेरी आन्धो बनेर हिँड्छन्,” भन्दै उनले आक्रोश व्यक्त गरेका छन्।
नेता राम सीले ठगी आरोप लागेका व्यक्तिलाई नै राजनीतिक पार्टीको जिम्मेवारी सुम्पिनु दुःखद भएको बताउँदै यसले राजनीतिक नैतिकतामाथि गम्भीर प्रश्न उठाएको बताएका छन्।
उनको उक्त अभिव्यक्तिले सहकारी ठगी प्रकरण, न्यायिक प्रक्रिया र राजनीतिक जिम्मेवारीबारे पुनः बहस चर्किने संकेत देखिएको छ।














