हेटौंडा, पुस ५ गते । शिवम् सिमेन्ट उद्योगबाट निस्कने धुलो र धुवाँका कारण आसपासका बस्ती तथा विद्यालय गम्भीर रूपमा प्रभावित भएका छन्। साना बालबालिकासहित स्थानीय बासिन्दामा श्वासप्रश्वास सम्बन्धी समस्या बढ्दै गएको भन्दै स्थानीयले कडा आपत्ति जनाएका छन्।

सेवा, सहयोग र आवाज अभियानका अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसमा उद्योगका कारण जनताको मौलिक अधिकार नै कुल्चिएको उल्लेख गरेका छन्। उनले जनताको भोटबाट निर्वाचित जनप्रतिनिधिहरू मौन बसेको र सरकार निरीह देखिएको आरोप लगाएका छन्।

“मापदण्ड मिचेर उद्योग चलिरहँदा प्रश्न उठ्छ—राज्य कमजोर हो कि सेटिङ बलियो?” भन्दै महतले उद्योगप्रति राज्यको उदासीनतामाथि गम्भीर प्रश्न उठाएका छन्। समाधान नहुँदासम्म मकवानपुरबाट जनताको आवाज रोकिने छैन भन्ने चेतावनीसमेत उनले दिएका छन्।

उनका अनुसार पीडित स्थानीयवासीलाई साथमा लिएर राजनीतिक दल, जनप्रतिनिधि, उपमहानगरपालिका तथा सम्बन्धित मन्त्रालयसम्म पुगेर दबाब सिर्जना गरिनेछ। उद्योगले वातावरणीय मापदण्ड पालना नगरेसम्म आन्दोलन र खबरदारी जारी रहने उनको भनाइ छ।
स्थानीयवासीले तत्काल प्रभावकारी अनुगमन, प्रदूषण नियन्त्रण र जनस्वास्थ्यको संरक्षणको माग गरेका छन्।














