विराटनगर,पुस १८ गते । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले विद्युत महसुल नतिर्ने उपभोक्ता माथि कडाइ गरेको छ । प्रथम चौमासिक अवधिसम्म विद्युत महसुल नबुझाएका २४९ जना उपभोक्ताको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।
वितरण केन्द्रका प्रमुख राम उदगार शाहका अनुसार सो अवधिसम्म उपभोक्ताबाट ३ करोड ४६ लाख ७६ हजार ५५१ रुपैयाँ विद्युत महसुल बक्यौता उठ्न बाँकी छ । बक्यौता रकममध्ये मंसिर मसान्तसम्म १ करोड ५८ लाख ४१ हजार ३०० रुपैयाँ किस्ता बन्दी मार्फत असुल गरिएको उनले जानकारी दिए ।
प्राधिकरणले बाँकी बक्यौता रहेका उपभोक्ताको लाइन काट्ने प्रक्रिया निरन्तर जारी राखेको जनाएको छ । वितरण केन्द्र प्रमुख शाहले समयमै विद्युत महसुल बुझाउन उपभोक्तालाई पटक–पटक आग्रह गरिँदै आएको भए पनि अटेर गर्ने ग्राहकको पहिचान गरी लाइन विच्छेद गर्ने कार्यलाई तीव्र बनाइएको बताए ।
उनले विद्युत सेवा निरन्तर र व्यवस्थित राख्न सबै उपभोक्ताले तोकिएको समयमै महसुल बुझाउन आग्रह गर्दै अटेरी गर्ने उपभोक्ता माथि कडाइ जारी रहने स्पष्ट पारेका छन् ।














