रम्भामा खेलकुदको उत्सव: राष्ट्रपति रनिङ शिल्डमा ५९२ खेलाडी, २५८ पदकको प्रतिस्पर्धा

पाल्पा, पुस १८ गते । पाल्पाको रम्भा गाउँपालिका अहिले खेलकुदको रंगले रौनकिएको छ। शुक्रबारदेखि गाउँपालिकामा १७ औँ राष्ट्रपति रनिङ शिल्ड तथा सातौँ रम्भा गाउँपालिकास्तरीय रनिङ शिल्ड प्रतियोगिता औपचारिक रूपमा सुरु भएको हो। हुँगीस्थित असेर्दी खेलमैदानमा भव्य समारोहबीच प्रतियोगिताको उद्घाटन गरिएको छ।

तीन दिनसम्म सञ्चालन हुने यस खेलकुद महोत्सवमा गाउँपालिका भित्रका विद्यालयहरूको उल्लेख्य सहभागिता देखिएको छ। ८ वटा माध्यमिक विद्यालय र १ गुरुकुलमबाट सहभागी विद्यार्थीहरूले विभिन्न खेल विधामा आफ्नो क्षमता प्रदर्शन गर्नेछन्।

प्रतियोगितामा ५ सय ९२ जना छात्र–छात्रा सहभागी छन् भने १५ फरक–फरक खेल विधामा प्रतिस्पर्धा हुनेछ। शिक्षा शाखा प्रमुख मीना आचार्यका अनुसार यस वर्षको रनिङ शिल्डमा कुल २ सय ५८ पदक प्रदान गरिनेछ, जसअन्तर्गत ७४ स्वर्ण, ७४ रजत र ११० कांस्य पदक रहेका छन्।

खेल तालिकाअनुसार छात्र र छात्रा दुवै समूहका लागि भलिबल, कबड्डी र एथलेटिक्सका विभिन्न विधा समावेश गरिएको छ। एथलेटिक्स अन्तर्गत १०० मिटरदेखि ३००० मिटरसम्मका दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो र सटपुटजस्ता प्रतिस्पर्धा हुनेछन्।

उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउँदै स्थानीय स्तरमै लुकेका प्रतिभा पहिचान गर्ने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरिएको बताए। उनले रनिङ शिल्डले अनुशासन, स्वास्थ्य र प्रतिस्पर्धात्मक भावनाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.