जलवायु परिवर्तनका असर चित्रमार्फत उजागर गर्दै विद्यार्थी, मकवानपुर महिला उत्थान समाजद्वारा मनहरीमा चित्रकला प्रतियोगिता

मनहरी, असोज २४ गते । जलवायु परिवर्तनले वातावरण, जनजीवन र समाजमा पारेका प्रभावबारे बालबालिकालाई सचेत बनाउने उद्देश्यले मकवानपुर महिला उत्थान समाजले मनहरीमा विशेष चित्रकला प्रतियोगिता आयोजना गरेको छ।

समाजले हिजो मनहरी गाउँपालिका–४, मसिनेस्थित श्री पशुपति माध्यमिक विद्यालयमा आयोजना गरेको प्रतियोगितामा विद्यालयका १४ जना विद्यार्थीले सहभागिता जनाएका थिए। विद्यार्थीहरूले जलवायु परिवर्तनका कारण उत्पन्न वातावरणीय समस्या र त्यसले पारेका असरलाई चित्रमार्फत प्रस्तुत गर्दै आफ्नो सिर्जनात्मक क्षमता प्रदर्शन गरेका थिए।

प्रतियोगितामा उत्कृष्ट चित्र बनाउने चार विद्यार्थी छनोट भएका छन्। जसमा राधिका तितुङ प्रथम, क्रिजन उप्रेती द्वितीय, सौरभ अर्याल तृतीय र रोयस पौडेल चौथो भएका छन्। सहभागी विद्यार्थीका चित्रहरूको मूल्याङ्कन विद्यालयका शिक्षक तथा शिक्षिकाले निर्णायकका रूपमा गरेका थिए।

विद्यालयका प्रधानाध्यापक सपना मल्लले विद्यार्थीको व्यक्तित्व विकास तथा सिर्जनात्मक क्षमता अभिवृद्धिका लागि यस्ता अतिरिक्त क्रियाकलाप महत्त्वपूर्ण हुने बताइन्। जलवायु परिवर्तन जस्तो गम्भीर विषयलाई चित्रकलामार्फत बुझाउने र विद्यार्थीलाई आफ्ना विचार सिर्जनात्मक रूपमा अभिव्यक्त गर्ने अवसर प्रदान गरेको भन्दै उनले मकवानपुर महिला उत्थान समाजप्रति आभार व्यक्त गरिन्।

उनले विद्यालयस्तरमा यस्ता कार्यक्रम सञ्चालन हुँदा विद्यार्थीको क्षमता विकास हुनुका साथै वातावरणीय विषयप्रति उनीहरू सचेत बन्ने बताउँदै आगामी दिनमा पनि विभिन्न विषयमा केन्द्रित अतिरिक्त क्रियाकलाप सञ्चालन हुने अपेक्षा व्यक्त गरिन्। साथै उनले नेपालीहरूको महान् चाड विजयादशमी तथा शुभदीपावलीको शुभकामनासमेत दिइन्।

मकवानपुर महिला उत्थान समाजकी कार्यक्रम संयोजक निशा लामाका अनुसार विद्यार्थीको व्यक्तित्व विकासमा सहयोग पुर्‍याउनुका साथै अतिरिक्त क्रियाकलाप मार्फत जलवायु परिवर्तनका प्रभावबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

लामाले पछिल्लो समय जलवायु परिवर्तनका कारण मौसमी तथा वातावरणीय क्षेत्रमा देखिएका असर र त्यसले गाउँ, टोल तथा समुदायमा निम्त्याएका समस्या बालबालिकालाई विद्यालय तहदेखि नै बुझाउन आवश्यक रहेको बताइन्। उनले भोटेकोशी क्षेत्रमा आएको बाढीजस्ता घटनाको सन्दर्भ उल्लेख गर्दै जलवायु परिवर्तन र वातावरणीय जोखिमबारे शैक्षिक क्षेत्रबाटै छलफल तथा सचेतना अभियान अघि बढाउनुपर्नेमा जोड दिइन्।

उनका अनुसार समाजले यस विद्यालयबाट जलवायु परिवर्तनका प्रभावबारे सचेतना अभिवृद्धि गर्ने अभियान सुरु गरेको हो। आगामी दिनमा अन्य विद्यालयमा समेत यस्ता कार्यक्रम विस्तार गर्ने योजना रहेको उनले बताइन्। चित्रकलासँगै वक्तृत्वकला तथा अन्य सिर्जनात्मक गतिविधिमार्फत पनि जलवायु परिवर्तनका विषयलाई विद्यार्थी माझ पुर्‍याउने प्रयास गरिने उनको भनाइ छ।

कार्यक्रम संयोजक लामाले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, स्वयंसेवक, सहभागी विद्यार्थी तथा उपस्थित सञ्चारकर्मीप्रति आभार व्यक्त गरिन्। पहिलो कार्यक्रम भएकाले व्यवस्थापनका क्रममा केही कमी–कमजोरी महसुस भएको उल्लेख गर्दै आगामी कार्यक्रमहरूमा त्यसलाई सुधार गर्दै लैजाने उनले बताइन्।

प्रतियोगितामा सहभागी विद्यार्थीले तयार पारेका चित्रहरू समाजले आफ्नो अभियानअन्तर्गत जलवायु परिवर्तनसम्बन्धी विषयमा अवलोकन तथा सचेतना अभिवृद्धिका लागि प्रयोग गर्ने जनाएको छ। यसबाट विद्यार्थीको सिर्जनात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्नुका साथै जलवायु परिवर्तनका असरबारे समुदायमा समेत सन्देश पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.