हेटौंडा, माघ ११ गते । निर्वाचन क्षेत्र नं. १ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर सुरेन्द्र लामा (योञ्जन) ले स्थानीय समस्यालाई केन्द्रमा राख्दै आफ्नो निर्वाचन अभियानलाई तीव्र बनाएका छन्। गाउँ–बस्तीमै पुगेर स्थानीय वासीसँग प्रत्यक्ष संवाद गरिरहेका लामा दीर्घकालीन समाधान सहित समृद्धिको बाटो खोल्ने प्रतिबद्धता सहित मैदानमा उत्रिएका छन्।
अभियानका क्रममा उनले बागमती–२ लगायतका क्षेत्रहरूमा रहेको कमजोर सडक सञ्जाल, पुलको अभाव र वर्षायाममा दोहोरिने बाढी समस्यालाई गम्भीर चुनौतीका रूपमा औँल्याए। उनका अनुसार यी समस्याले न केवल आवागमनमा अवरोध सिर्जना गरेको छ, स्थानीयको कृषि, रोजगारी र दैनिक जनजीवन नै प्रभावित बनाएको छ।
स्थानीयवासीले बागमती–२ क्षेत्रमा पुल र व्यवस्थित सडक नहुँदा यातायात असहज बनेको गुनासो गरेका छन्। वर्षात्को समयमा आउने बाढीले खेतबारी र घरसमेत जोखिममा परेको बताउँदै उनीहरूले तत्काल दीर्घकालीन समाधानको माग गरेका छन्। गुहिये, लामकाना र चौरावा क्षेत्रमा रहेका तीन खहरे वर्षासँगै उग्र बन्दा “दोस्रो कर्णाली” जस्तो अवस्था सिर्जना भएको स्थानीयको भनाइ छ।
त्यस्तै, डोटे रोड निर्माणलाई तत्काल प्राथमिकतामा राख्नुपर्ने साझा माग पनि स्थानीयले अघि सारेका छन्। उम्मेदवार लामा (योञ्जन) ले स्थानीय आवाजलाई राज्यको नीति र कार्यक्रमसम्म पुर्याउने आफ्नो जिम्मेवारी रहेको उल्लेख गर्दै भने, “समस्या नबुझे समाधान सम्भव हुँदैन, त्यसैले म जनताकै बीचमा छु।”
उनले स्थानीयसँगको छलफलबाट प्राप्त सुझावका आधारमा विकास योजना तयार पारिने र ती योजनाले क्षेत्रको समग्र विकासलाई गति दिने विश्वास व्यक्त गरे। “अब पछि परेको क्षेत्रलाई विकास र समृद्धिको मूलधारमा जोड्ने समय आएको छ,” उनको भनाइ छ। निर्वाचन अभियानमा इन्जिनियर लामा सुशासन, समावेशी विकास र आधारभूत सेवामा सबैको सहज पहुँच सुनिश्चित गर्ने लक्ष्यका साथ अघि बढिरहेका छन्। स्थानीयसँग विश्वास र सहकार्यको सम्बन्ध निर्माण गर्दै उनले मकवानपुर–१ लाई दीर्घकालीन रूपमा सुरक्षित र समृद्ध बनाउने प्रतिवद्धता दोहोर्याएका छन्।














