हेटौंडा,जेठ २३ गते। सेवा सहयोग र आवाजमा हामीका अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महतले नेपालको राष्ट्रिय हित, सार्वभौमसत्ता र भूराजनीतिक संवेदनशीलताप्रति सजग रहनुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महतले इतिहासका विभिन्न घटनाबाट शिक्षा लिएर वर्तमान परिस्थितिको मूल्याङ्कन गर्न आवश्यक रहेको उल्लेख गरेका छन्। उनले कुनै पनि शक्तिशाली राष्ट्रले आफ्नो राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने भएकाले नेपालजस्तो भूराजनीतिक रूपमा महत्वपूर्ण देशले राष्ट्रिय स्वार्थको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।
महतले सिक्किम भारतमा विलय भएको घटना तथा बङ्गलादेश निर्माणमा भारतको भूमिकाजस्ता ऐतिहासिक प्रसङ्ग उल्लेख गर्दै आन्तरिक राजनीतिक अस्थिरता, विभाजन र राष्ट्रिय हितभन्दा माथि व्यक्तिगत तथा दलगत स्वार्थ हावी हुँदा बाह्य शक्तिहरूको प्रभाव बढ्न सक्ने तर्क गरेका छन्।
उनले नेपालमा नागरिकता, जनसंख्या, भाषा, सीमा, जलस्रोत तथा तराईसँग सम्बन्धित विषयहरू लामो समयदेखि संवेदनशील रहँदै आएको उल्लेख गर्दै यस्ता विषयमा तथ्य र विवेकका आधारमा बहस हुनुपर्ने बताएका छन्। साथै, सीमासम्बन्धी विवाद, प्राकृतिक स्रोतसाधनको उपयोग तथा विदेशी लगानीका गतिविधिलाई गम्भीरतापूर्वक अध्ययन गर्न आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।
महतले विद्यालय, स्वास्थ्य संस्था, सडक तथा पूर्वाधार निर्माणमा प्राप्त हुने सहयोग सकारात्मक भए पनि त्यसको दीर्घकालीन रणनीतिक प्रभावबारे राज्य र नागरिक दुवै सचेत हुनुपर्ने बताएका छन्। अन्तर्राष्ट्रिय सम्बन्धमा मित्रताभन्दा पनि राष्ट्रिय स्वार्थ प्रमुख हुने भएकाले नेपालले आफ्नो हितको रक्षा गर्न सक्षम हुनुपर्ने उनको भनाइ छ।
उनले राष्ट्रको सार्वभौमसत्ता बाह्य हस्तक्षेपले मात्र नभई आन्तरिक विभाजन, राजनीतिक अस्थिरता, भ्रष्टाचार र राष्ट्रिय मुद्दामा एकताको अभावले पनि कमजोर बन्न सक्ने उल्लेख गरेका छन्। राष्ट्रिय हितसँग सम्बन्धित विषयमा नागरिक, राजनीतिक नेतृत्व र राज्य संयन्त्र जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिएका छन्।
महतले राष्ट्रवाद केवल भाषण, नारा वा सामाजिक सञ्जालका अभिव्यक्तिबाट प्रमाणित नहुने बताउँदै राष्ट्रिय सम्पदाको संरक्षण, प्राकृतिक स्रोतको रक्षा, सीमाको सुरक्षा र राष्ट्रिय एकताको सुदृढीकरणमार्फत वास्तविक राष्ट्रहित सुरक्षित हुने धारणा राखेका छन्।
उनले नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता र स्वाभिमानको संरक्षणका लागि इतिहासबाट शिक्षा लिएर दीर्घकालीन राष्ट्रिय हितलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याएका छन्।














