भोलिदेखि फेरि पूरा १४.२ केजी एलपी ग्यास सिलिन्डर बिक्री सुरु, मूल्य रु २,०६०

काठमाडौं , असार ३० गते । नेपाल आयल निगमले भोलि (बुधबार)देखि १४.२ किलोग्राम तौल भएको पूरा एलपी ग्यास सिलिन्डर बिक्रीवितरण पुनः सुरु गर्ने जनाएको छ।

मध्यपूर्वमा उत्पन्न तनावका कारण एलपी ग्यासको आपूर्तिमा समस्या आएपछि निगमले २०८२ साल फागुन २९ गतेदेखि ७.१ किलोग्राम तौल भएको आधा भरिएको खाना पकाउने ग्यास सिलिन्डर मात्र वितरण गर्दै आएको थियो।

निगमका अनुसार हाल बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट हुने ग्यास लोडिङको अवस्थामा सुधार आएको र उपभोक्ताबाट पूरा सिलिन्डरको उच्च माग देखिएकाले फेरि १४.२ किलोग्राम तौल भएको पूरा सिलिन्डर वितरण गर्ने व्यवस्था मिलाइएको हो।

निगमले पूरा भरिएको एलपी ग्यास सिलिन्डरको उपभोक्ता मूल्य रु २,०६० तोकेको जनाएको छ।

यसैबीच, केही समयसम्म बजारमा आधा भरिएका सिलिन्डर पनि उपलब्ध हुन सक्ने भएकाले ग्यास खरिद गर्दा सिलिन्डरको तौल र तोकिएको मूल्य यकिन गरेर मात्र खरिद गर्न उपभोक्तालाई आग्रह गरिएको छ।

निगमले एलपी ग्यासको आपूर्ति नियमित रहेको उल्लेख गर्दै अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न पनि सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.