झापा, असार २९ गते । साहित्य चौतारी गौरीगञ्ज, झापाको आयोजनामा २१३औँ भानुजयन्ती विविध साहित्यिक कार्यक्रमका साथ सम्पन्न भएको छ।
गौरीगञ्ज माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवर प्रमुख अतिथि तथा गौरीगञ्ज गाउँपालिका–३ का वडाध्यक्ष श्रवण गिरी विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रमको सभापतित्व प्रवेश श्रेष्ठले गरेका थिए भने सञ्चालन अभिषेक राजवंशीले गरेका थिए। सहयोगी मन ठेकिटोला सह–आयोजकका रूपमा रहेको थियो।
कार्यक्रमको उद्घाटन विद्यालय परिसरमा रक्तचन्दनको बिरुवा रोपेर गरिएको थियो। त्यसपछि आयोजित साहित्यिक गोष्ठीमा गौरादह बहुमुखी क्याम्पसका प्राध्यापक खगेन्द्र न्यौपाने, साहित्यकार अर्जुन दङ्गाल तथा गौरीगञ्ज बहुमुखी क्याम्पसका प्राध्यापक केदार रिमालले आदिकवि भानुभक्त आचार्यको व्यक्तित्व, कृतित्व तथा नेपाली भाषा–साहित्यमा उनले पुर्याएको योगदानबारे आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा विभिन्न कवि तथा कवयित्रीहरूले आदिकवि भानुभक्त आचार्यका रचना वाचन गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए। सहभागीहरूले भानुभक्तका कृतिहरूले नेपाली भाषा, साहित्य र राष्ट्रिय पहिचानलाई समृद्ध बनाउन खेलेको भूमिकाबारे चर्चा गर्दै यस्ता कार्यक्रमले नयाँ पुस्तामा साहित्यप्रतिको रुचि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।
साहित्य, संस्कृति र भाषाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीय साहित्यप्रेमी, शिक्षक, विद्यार्थी तथा बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।














