मनहरी खोलामा बेपत्ता भएका अशोक प्रजाको शव तीन दिनपछि मनहरी पुलमुनि फेला

मनहरी, साउन २२ गते । मकवानपुरको कैलाश गाउँपालिका–४ का ३२ वर्षीय अशोक प्रजाको शव शुक्रबार बिहान मनहरी खोलास्थित मनहरी पुलमुनि फेला परेको छ। साउन २० गते राति मनहरी खोला तर्ने क्रममा खोलाले बगाएपछि उनी बेपत्ता भएका थिए।

प्रहरीका अनुसार साउन २० गते राति करिब ११ बजे कैलाश गाउँपालिका–४ देउतिस निवासी २५ वर्षीय प्रकाश तामाङ र अशोक प्रजा कालिकाटारबाट आफ्नै घर फर्किरहेका बेला मनहरी खोला तर्ने प्रयास गरेका थिए। वर्षाका कारण बढेको खोलाको तीव्र बहावले दुवै जनालाई बगाएको थियो।

घटनामा प्रकाश तामाङ भने सकुशल बाहिर निस्कन सफल भएका थिए। तर अशोक प्रजा खोलाले बगाएपछि बेपत्ता भएका थिए।

घटनालगत्तै प्रहरी चौकी भार्ता, प्रहरी चौकी चैनपुर तथा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीसँग समन्वय गरी निरन्तर खोजी अभियान सञ्चालन गरेको थियो।

उक्त खोजी अभियानकै क्रममा शुक्रबार बिहान मनहरी पुलमुनि अशोक प्रजाको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.