दक्षिण एसियाकै पहिलो ऐतिहासिक चुरियामाई सुरुङको व्यवस्थापन जिम्मा स्थानीय समितिलाई

हेटौंडा, असार ३२ गते । दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित चुरियामाई सुरुङको संरक्षण तथा व्यवस्थापनको जिम्मेवारी चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवं व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ।

हेटौंडा उपमहानगरपालिकाले सुरुङको संरक्षण, व्यवस्थापन तथा प्रवर्द्धन गर्ने उद्देश्यले समितिसँग जिम्मेवारी हस्तान्तरण सम्बन्धी सम्झौता गरेको हो। सम्झौतापत्रमा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा र समितिका अध्यक्ष प्रेमबहादुर भोम्जनले हस्ताक्षर गरेका छन्।

ऐतिहासिक महत्व बोकेको चुरियामाई सुरुङ तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेर जंगबहादुर राणाको शासनकालमा वि.सं. १९७२ (सन् १९१५) मा निर्माण सुरु भई वि.सं. १९७४ (सन् १९१७) मा सम्पन्न भएको बताइन्छ। करिब दुई वर्ष लगाएर निर्माण गरिएको यो सुरुङ करिब ५०० मिटर लामो छ।

सुरुङ निर्माणको प्राविधिक नेतृत्व इन्जिनियर ब्रिगेडियर जनरल स्वर्गीय डिल्लीजंग थापाले गरेका थिए। उनकै डिजाइनमा निर्माण गरिएको सुरुङ करिब ४.५ मिटर चौडा र करिब ६ मिटर अग्लो रहेको छ।

लामो समयसम्म प्रयोगविहीन अवस्थामा रहेको सुरुङको बागमती प्रदेश सरकारले मर्मत तथा पुनःसंरक्षण गरेको थियो। मर्मत सम्पन्न भएपछि प्रदेश सरकारले उक्त सुरुङ हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो। अब उपमहानगरपालिकाले स्थानीय समितिलाई यसको संरक्षण, व्यवस्थापन र पर्यटकीय प्रवर्द्धनको जिम्मेवारी दिएको छ।

ऐतिहासिक तथा पर्यटन सम्भावना बोकेको चुरियामाई सुरुङको व्यवस्थित संरक्षण र सञ्चालनले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.