हेटौंडा, असार २९ गते । हिजो रातिदेखि परेको अविरल वर्षाका कारण बाढी, पहिरो तथा खोलानालामा पानीको बहाव बढेपछि हेटौंडाबाट काठमाडौँ जाने छोटो मार्गमा सवारी सञ्चालन रोकिएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार सूचना जारी गर्दै हेटौंडा–भैंसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौँ सडक तथा कान्ति लोकपथमा उच्च जोखिमको अवस्था सिर्जना भएकाले यात्रुको सुरक्षाका लागि सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।

सूचनाअनुसार हेटौंडा–सिस्नेरी–काठमाडौँ सडक भएर सञ्चालन हुने सवारी साधनलाई हेटौंडाको चौकीटोलबाट साँझ ५ बजेदेखि भोलि बिहान ५ बजेसम्म रोक लगाइएको छ। त्यसैगरी कान्ति लोकपथ प्रयोग गर्ने सवारी साधनलाई हेटौंडाको चौखडाबाट अर्को सूचना जारी नभएसम्मका लागि रोक लगाइएको प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार लगातारको वर्षासँगै बाढी, पहिरो तथा खोलानालाको बहाव बढेकाले सडक यात्रा जोखिमपूर्ण बनेको छ। सम्भावित दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षा सुनिश्चित गर्न उक्त निर्णय गरिएको जनाइएको छ।
प्रशासनले यातायात व्यवसायी, चालक तथा सर्वसाधारणलाई तोकिएको समय र स्थानपछि मात्र सवारी सञ्चालन गर्न, सुरक्षित स्थानमा बस्न तथा आवश्यक परे वैकल्पिक र सुरक्षित मार्गको प्रयोग गर्न आग्रह गरेको छ।
सवारी सञ्चालन रोकिएपछि हेटौँडा बजारदेखि चौकीटोल चेकपोस्टसम्म यात्रुवाहक तथा अन्य सवारी साधनको लामो जाम लागेको छ। जसका कारण यात्रुहरूले आवतजावतमा सास्ती बेहोर्नुपरेको छ।















