हेटौंडा,जेठ २३ गते। सेवा सहयोग र आवाजमा हामीका अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महतले युनिटी काण्डका पीडितहरूको न्याय र रकम फिर्तासम्बन्धी विषयमा जनप्रतिनिधि तथा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महतले जनताले परिवर्तनको अपेक्षासहित नयाँ राजनीतिक शक्तिलाई दिएको विश्वासलाई व्यवहारमा प्रमाणित गर्नुपर्ने बताएका छन्। उनले सत्ता प्राप्त गर्नु मात्र पर्याप्त नभई जनताका समस्या समाधान गर्नु नै जनप्रतिनिधिको मुख्य दायित्व भएको उल्लेख गरेका छन्।
महतले युनिटी काण्डबाट प्रभावित धेरै नागरिक अझै पनि आफ्नो बचत तथा लगानी फिर्ताको प्रतीक्षामा रहेको उल्लेख गर्दै पीडितहरूको समस्याप्रति सम्बन्धित निकाय र जनप्रतिनिधिहरूको पर्याप्त ध्यान नपुगेको टिप्पणी गरेका छन्। मकवानपुरसहित विभिन्न जिल्लाका नागरिकहरू उक्त घटनाबाट प्रभावित भएको भन्दै उनले पीडितहरूको पक्षमा प्रभावकारी पहल आवश्यक रहेको बताएका छन्।
उनले अदालतबाट भएका निर्णयको कार्यान्वयन, दोषीमाथि कारबाही तथा पीडितको रकम असुलउपर गरी फिर्ता गराउने विषयमा सरकारको सक्रियता आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। साथै, संसदमा पीडितका मुद्दा प्रभावकारी रूपमा उठाइनुपर्ने उनको भनाइ छ।
महतले जनप्रतिनिधिहरू जनताको आवाज बन्ने अपेक्षाका साथ निर्वाचित हुने भएकाले नागरिकका समस्या र सरोकारका विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमा देखिने गतिविधिभन्दा नागरिकका वास्तविक समस्याको समाधान महत्वपूर्ण रहेको उनको धारणा छ।
उनले युनिटी काण्डका पीडितलाई न्याय दिलाउने, रकम फिर्ताको प्रक्रिया अगाडि बढाउने तथा सुशासनको प्रत्याभूति गराउने विषयमा स्पष्ट पहल आवश्यक रहेको बताएका छन्। जनताले दिएको मत केवल निर्वाचन जित्नका लागि नभई जनताको विश्वास र अपेक्षाको जिम्मेवारी पनि भएको उनको भनाइ छ।
महतले नागरिकले न्यायका लागि पटक–पटक सडक आन्दोलन गर्नुपर्ने अवस्था आउन नदिन सरकार र जनप्रतिनिधिहरूले समयमै जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। जनताको विश्वास कायम राख्न वाचा अनुरूप काम गर्न आवश्यक रहेको उनले उल्लेख गरेका छन्।














