हेटौंडा,जेठ २१ गते। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा जेठ ३० गते बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म हेटौंडा–४ स्थित क्वीक ट्वान्टी पार्टी प्यालेसमा शिविर सञ्चालन गरिने जनाइएको छ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान, मकवानपुर शाखाको सहआयोजना तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडाको विशेष सहयोगमा सञ्चालन हुने शिविरको व्यवस्थापन टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाले गर्नेछ।
वडा अध्यक्ष नवीन सिग्देलका अनुसार वडा कार्यालय र नेपाल हृदयरोग निवारण प्रतिष्ठान, मकवानपुर शाखाको सहकार्यमा आयोजना हुन लागेको यो तेस्रो बृहत् स्वास्थ्य शिविर हो। शिविरमार्फत सर्वसाधारणलाई विशेषज्ञ स्वास्थ्य सेवा सहज र निःशुल्क रूपमा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
शिविरमा मुटुरोग, स्त्रीरोग तथा क्षयरोग सम्बन्धी विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिनेछ। साथै भिडियो एक्स–रे, ईसीजी, इको सेवा, सुगर तथा लिपिड प्रोफाइल परीक्षण, छातीको एक्स–रे र पीएफटी (दम परीक्षण) निःशुल्क रूपमा उपलब्ध गराइने कार्यक्रम छ।
महिलाहरूका लागि पाठेघर तथा पाठेघरको मुखको क्यान्सर परीक्षणको व्यवस्था गरिएको छ भने जनरल फिजिसियन सेवा पनि प्रदान गरिनेछ। शिविरमा स्वास्थ्य परीक्षणपछि आवश्यक परेका बिरामीलाई सात दिनसम्मका लागि आवश्यक औषधि निःशुल्क वितरण गरिने जनाइएको छ।
वडा अध्यक्ष सिग्देलले शिविरबाट प्रदान गरिने निःशुल्क स्वास्थ्य सेवाको अधिकतम उपयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। उनका अनुसार स्वास्थ्य उपचारमा सबै नागरिकको पहुँच विस्तार गर्दै स्वस्थ नगर निर्माण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यका साथ शिविर आयोजना गर्न लागिएको हो।














