नेकपा (माओवादी) मकवानपुरद्वारा उम्मेदवारसँग पत्रकार संवाद हिजो सम्पन्न, घलानले सार्वजनिक गरे चुनावी एजेन्डा

हेटौँडा, माघ १९ गते । हिजो नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरले उम्मेदवारसँग पत्रकार संवाद कार्यक्रम सम्पन्न गरेको छ। हेटौंडा–१० स्थित टिसेन रोडमा अवस्थित जेएनबी होटलमा आयोजित उक्त कार्यक्रम आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको हो।

कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश नेपाली (आरोह) र मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार राम बहादुर घलान (वाटर) को उपस्थिति रहेको थियो। संवाद कार्यक्रममा उपस्थित पत्रकारहरूसँग उम्मेदवारहरूले आफ्ना धारणा, विगतका योगदान तथा आगामी चुनावी एजेन्डाबारे स्पष्ट पारेका थिए।

पत्रकारहरूसँगको संवादमा मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार रामब हादुर घलान (वाटर)ले १० वर्षे जनयुद्ध मार्फत राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनामा माओवादीको ऐतिहासिक योगदान रहेको उल्लेख गरेका छन्। उनले राष्ट्रघाती एमसीसी सम्झौता, भ्रष्टाचार, मिटर ब्याजी र लघुवित्तको शोषण विरुद्ध निरन्तर संघर्ष गर्दै आएको दाबी गरेका छन्। साथै धर्मनिरपेक्षता, समाजवादी व्यवस्था निर्माण, राष्ट्रिय स्वाधीनता र जनताको हक अधिकार संरक्षण माओवादीको मूल एजेन्डा रहेको बताए।

घलानले हेटौंडाका विभिन्न क्षेत्रमा सार्वजनिक जमिनको रक्षा, भूमिहीन सुकुम्बासीलाई लालपुर्जा दिलाउने पहल, राजमार्ग सडक विस्तार पीडितको व्यवस्थापन, खानी प्रभावित क्षेत्रका जनताको मुआब्जा सुनिश्चितता, सरकारी अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्व अलग गराउने विषयमा आफ्नो भूमिका रहेको जानकारी दिएको छ।

त्यस्तै, आर्थिक रूपमा कमजोर विद्यार्थीलाई छात्रवृत्ति, स्वास्थ्य क्षेत्रमा सहुलियत, हेटौंडा–काठमाडौं यातायात भाडामा कालाबजारी नियन्त्रण, जेन–जी आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूको रिहाइका लागि पहल, व्यवसायीमाथिको दोहोरो कर प्रणाली अन्त्य तथा लागू औषध दुर्व्यसनी नियन्त्रणका विषयमा पनि आफू सक्रिय रहेको उनको भनाइ थियो।

आगामी प्रतिबद्धताबारे बोल्दै घलानले प्रत्येक गाउँपालिकाको मुख्य सडक पिच विस्तार, सहायक सडक स्ल्याब, कक्षा १२ सम्म निशुल्क शिक्षा, प्राविधिक शिक्षा अनिवार्य, नागरिक स्वास्थ्य बीमा १० लाखसम्म पुर्‍याउने, कृषि उत्पादन र औद्योगिकरणमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए।

त्यसैगरी, रोजगारी सृजना गरी युवा पलायन रोक्ने, सुरक्षित वैदेशिक रोजगार सुनिश्चित गर्ने, जातीय तथा सामाजिक विभेद अन्त्य गर्ने, भ्रष्टाचारीलाई आजीवन जेल सजाय र सम्पत्ति राष्ट्रियकरण गर्ने, महिलालाई समान पैतृक हक, सहिद परिवारलाई रोजगारी, प्रत्येक वडामा अस्पताल, एम्बुलेन्स र चिकित्सकको व्यवस्था गर्ने विषय पनि आफ्नो एजेन्डामा रहेको उनले स्पष्ट पारेका छन्।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी मकवानपुरले विचार, योगदान र बलिदानको मूल्यांकनका आधारमा मतदान गर्न आग्रह गर्दै गुलाफ चुनाव चिन्हमा मतदान गर्न मतदाता समक्ष अपिल गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.