मनहरी–६ मा माघ २७ गते एचपिभी खोप अभियान सञ्चालन हुने

मनहरी गाउँपालिका, माघ २५ गते । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ मा एचपिभी (HPV) खोप अभियान सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। पुष्पलाल आधारभूत स्वास्थ्य केन्द्रको आयोजनामा सम्पन्न छलफल कार्यक्रमपछि माघ २७ गतेबाट खोप अभियान सुरु गर्ने निर्णय गरिएको हो।

छलफल अनुसार वडाभित्र तीन स्थानलाई खोप केन्द्रका रूपमा तोकिएको छ। रेड एन्जल बोर्डिङ स्कुल, राष्ट्रिय माध्यमिक विद्यालय सुनाचुरी र सगरमाथा आधारभूत विद्यालयबाट खोप सेवा प्रदान गरिनेछ। यस अभियानमार्फत ५४ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य केन्द्रले जनाएको छ।

मनहरी–६ का वडा अध्यक्ष युवराज थपलियाको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा वडा सदस्य विष्णु राई, सञ्चारकर्मी जयराम मुक्तान तथा स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो।

सामान्यतया ९ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई दिइने एचपिभी खोप पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्न प्रभावकारी मानिन्छ। एचपिभी (Human Papillomavirus) भाइरसको संक्रमणबाट जोगिन खोप महत्वपूर्ण उपाय भएकाले अभियानलाई सफल बनाउन अभिभावक, विद्यालय र समुदाय सबैको सक्रिय सहयोग आवश्यक रहेको कार्यक्रममा सहभागीहरूले जोड दिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.